News विदेश

युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेको दस्तावेज चुहाउने अमेरिकी नागरिक पक्राउ

युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेको दस्तावेज चुहाउने अमेरिकी नागरिक पक्राउ

युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाउने व्यक्तिलाई अमेरिकामा गिरफ्तार गरिएको छ । गोप्य दस्तावेज चुहाएको आरोपमा अमेरिकी हवाई सेनाकै सदस्य २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरा गिरफ्तारमा परेका छन् ।

सुरुवातमा अनलाइन च्याट ग्रुपमा अमेरिकी दस्तावेज सार्वजनिक गर्ने व्यक्ति उनी नै भएको अमेरिकी प्रहरीले बताएको छ । उनलाई जासुसीसम्बन्धी कानुनका आधारमा अभियोग चलाइनेछ जसले गोप्य रक्षा सूचना चुहाउनुलाई अपराधका रूपमा हेर्छ ।

सार्वजनिक भिडियो अनुसार बिहीबार उनलाई डाइटन नगरस्थित उनकै घरबाट प्रहरीले पक्राउ गर्न सफल भएका छन् । अमेरिकी गोप्य दस्तावेज चुहाउने टेइसेइरा मासाचुसेट्स एयर न्याश्नल गार्डको गुप्तचरी शाखाका सदस्य हुन् । उनी त्यहाँ आईटी विशेषज्ञको रुपमा कार्यरत छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार चुहावट भएको अमेरिकी गोप्य दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेस रुस अनुकूल बनेको उल्लेख छ भने उनका गतिविधि पनि निगरानी गरिएको देखिएको छ ।

युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो र अमेरिकाको सहयोग साथै बेलायत र दक्षिण कोरिया, चीन लगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोण, गुप्तचर निकायका विश्लेषण पनि अमेरिकी दस्तावेजमा भएको बताइएको छ । 

एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ। केहीमा ‘अति गोप्य’ समेत लेखिएको चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ। जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील विवरणहरू समेत छन्।  

कुन देशका कति सैनिक?
२३ मार्चको लेखिएको उक्त दस्तावेजका अनुसार यूकेले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ। त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन्।

उक्त दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे खुलाएको छैन। सैनिकहरूको संख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्छ। तर ‘स्पेसल फोर्स’ भनिने विशेष फौजहरू उनीहरूका स्वभावैले निकै प्रभावकारी हुन्छन्। युक्रेनमा रहेको उनीहरूको उपस्थितिले मस्कोलाई क्रुद्ध पार्न सक्छ। पछिल्ला महिनामा रुसले आफू युक्रेनसँग मात्र नभएर नेटोसँग लडिरहेको तर्क गर्दै आएको थियो।

यूकेको प्रतिक्रिया के छ?
यस्ता विषयमा आफ्नो विशिष्ट नीतिकै लयमा रहेर यूकेको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन। तर मङ्गलवार एक ट्विटमार्फत गोप्य सूचना भनिएका चुहावटमा ‘गम्भीर तहका गल्तीहरू’ देखिएको जनाएको छ।

उसले भनेको छ–‘ठाडै लगाइएका आरोपलाई कसरी लिने भन्ने विषयमा पाठकहरू सजग हुनुपर्छ जसले गलत सूचना फैलाउन सक्छ।’ कुन खास दस्तावेजलाई उसले त्यसरी इङ्गित गरेको भनेर उसले थप बताएको छैन।

यद्यपि ती दस्तावेजहरू वास्तविक रहेको भन्दै पेन्टागनका अधिकारीहरूलाई उद्धृत गरिएका छन्। युक्रेनमा दुवैतर्फ भएका मानवीय क्षतिको विवरण राखेको एक दस्तावेजका संख्या तोडमोड गरिएको देखिन्छ।

विशिष्ट फौजहरू
यूके स्पेशल फोर्सेस कैयौँ विशिष्ट सैन्य क्षमता भएका सैनिकहरू हुने गर्छन् र त्यो संसारकै सबैभन्दा सक्षममध्येमा गनिन्छ। अमेरिकासहितका देशहरूभन्दा फरक आफ्ना स्पेशल फोर्सेसबारे प्रतिक्रिया नजनाउने ब्रिटिश सरकारको नीति रहेको छ।

युक्रेनको प्रखर समर्थक रहँदै आएको यूकेले किएभलाई अमेरिकापछि सबैभन्दा धेरै सैन्य सहायता गर्दै आएको छ। अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आफ्नो देशको न्याय मन्त्रालयले एक फौजदारी अनुसन्धान सुरु गरेको र आफू उक्त चुहावटको स्रोत पत्ता लगाउन प्रतिबद्ध रहेको बताएका छन्।
बीबीसीको सहयोगमा
 

विशेष