News खेल

एसीसी प्रिमियर कपको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेट हरायो

एसीसी प्रिमियर कपको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेट हरायो

आगामी ५ गतेदेखि हुने एसीसी प्रिमियर कपअघि ओमानसँगको अभ्यास खेलमा नेपाल विजयी भएको छ । २४७ रनको लक्ष्य पाएको नेपालले ओमानमाथि ५ विकेटको जीत निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको अभ्यास खेलमा नेपालले पाएको लक्ष्य ५ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा ग¥यो।

नेपालका लागि अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। अर्जुनले ६७ रन जोड्दा रोहितले ५८ रन र दीपेन्द्रले ५९ रन जोडे। अर्जुनसँग ओपनिङ गरेका देव खनाल १० रनमा आउट भए। ज्ञानेन्द्र मल्लले १५ रन र कुशल मल्लले ८ रन बनाए भने सन्दीप जोरा ११ र भीम सार्की १ रनमा नटआउट रहे।

बलिङमा ओमानका कप्तान जिशान मकसुदले २ विकेट लिए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन जोड्यो।

ओमानका लागि  शोएब खानले शतक प्रहार गरे। उनले नटआउट ११० रन खेले। बलिङमा नेपालका किशोर महतोले ३ विकेट तथा प्रतिश जिसी र सूर्य तामाङले २–२ विकेट लिए। 

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुँदैछ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। 

नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा र दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिवि खेलमैदानमा खेल्दैछ। तेस्रो खेल वैशाख ११ गते अरेबयासँग मुलपानी मैदानमा र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। 

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। विजेता टिम सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ भने भारत र पाकिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
 

विशेष