News अपराध सुरक्षा

बाटोको विवादमा गढीमाईमा गोली चल्यो, एक जनाको मृत्यु, १२ बोरको वन्दुक वरामद

बाटोको विवादमा गढीमाईमा गोली चल्यो, एक जनाको मृत्यु, १२ बोरको वन्दुक वरामद

बाटोका लागि जग्गा छुट्याउने विषयमा विवाद हुँदा सुरु भएको झडपमा गोली लागेर रौतहटको गढीमाईमा एक जनाएको मृत्यु भएको छ।

गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवाद भएको थियो। सोही क्रममा झडप भएको १२ बोरको वन्दुकबाट गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

विवादका क्रममा स्थानीय राजकुमार राय यादव गोली लागेर घाईते भएका थिए। उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद भएको र सोही क्रममा गोली चलेको प्रहरीले जनाएको छ। गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

प्रहरीले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएको छ भने १२ बोरको हतियार पनि बरामद भएको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली खटिएको छ।
 

विशेष