News

वर्षमानकी आमालाई गोली हान्ने हवल्दारको सफाईः दुर्घटनावस गोली चल्यो 

वर्षमानकी आमालाई गोली हान्ने हवल्दारको सफाईः दुर्घटनावस गोली चल्यो 

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीमाथि गोली प्रहार गरेका नाताले नाती पर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरले अन्जानमा गोली चलेको वताएका छन्।

प्रहरीको सोधपुछका क्रममा उनले गल्तीले गोली चलेको बताएका छन्। प्रहरी प्रधान कार्यालय, नक्सालमा नेपाल प्रहरीले उनीमाथि सोधपुछ गरेको थियो। शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा आयोजित पारिवारिक भेटभाटमा कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य रहेका प्रकाशले गोली चलाएका थिए ।

मादक पदार्थ सेवन गरेका प्रकाशको पेस्तोलबाट चलेको गोली ७४ वर्षिया तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए।

गोली लागेलगत्तै हवल्दार प्रकाश त्यहाँबाट भागेको स्रोतले जनाएको छ । घटना शुक्रबार बेलुकी साढे ९ बजेको भए पनि प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो । त्यसपछि खटिएको टोलीले उनको कोठाबाट प्रकाशलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।

प्रकाशले नेता पुनको आमालाई हजुरआमा भन्दै सम्बोधन गर्थे । पुनका भाइका साथीसमेत रहेका प्रकाश रोल्पामा छिमेकी समेत भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसैले उनको नेता पुनकी आमा बसेको घरमा आउजाउ भइराख्थ्यो ।
 

विशेष