News

चितवन २ः साख गुमाएका रविलाई आफ्नै भोट जोगाउन गाह्रो

चितवन २ः साख गुमाएका रविलाई आफ्नै भोट जोगाउन गाह्रो

वैशाख १० गतेको उपचुनाव नजिकिएसँगै अहिले सवैको ध्यान चितवनमा केन्द्रित छ। उपचुनावको दौडका बलिया उम्मेदवार रास्वपाका सभापति रवि लामिछाने स्वयम छन्। जसले मंसिर ४ को निर्वाचनमा कांग्रेस एमालेका उम्मेदवारलाई धुलो चटाएका थिए।

तर, विडम्वना उनै लामिछानेको अहंकारका कारण चितवन २ उपचुनावमा होमिएको छ। उनीसँग मंसिर ४ को वदला लिन कांग्रेसले जीतनारायण श्रेष्ठलाई उठाएको छ। चितवन कांग्रेसका पूर्वसभापति समेत रहेका श्रेष्ठ १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए।

एमालेले यसअघि उठाएका उम्मेदवार कृष्णभक्त पोखरेललाई विश्राम दिएर रामप्रसाद न्यौपानेलाई उम्मेदवार वनाएको छ। अघिल्लो पटकको अवस्था हेर्दा चितवन २ मा रविका अगाडि कसैले ठाडो नजर लगाउने अवस्था छैन। तर, वदलिएको परिस्थितीले अहिले उनलाई पनि धौ–धौ छ। रास्वपाकै नेताहरु अघिल्लो पटकको तुलनामा रविको १५ देखि १८ हजार मत घट्ने विश्लेषण गर्न थालेका छन्।

यसको प्रमुख कारक स्वयम रवि लामिछाने र उनका आसेपासेहरु पनि हुन। खास गरी रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो टेप काण्डबारेको चर्चाले अहिले चितवनको अवस्था फेरिएको छ। यसैगरी, रविको नागरिक्ता, राहदानी, सरकारमा वसिरहन उनले गरेको मरिहत्ते र घरदैलोका क्रममा उनले आम मतदातासँग गरिरहेको उनको ब्यवहार यस पटक चितवनवासीलाई विझाएको छ।

मंसिर ४ मा बालकदेखी वृद्धसम्म सवै लागेर चितवनवासीले रविलाई चुनाव जिताए। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा, जसपालगायत सवै पार्टीका नेताकार्यकर्ता रविको जुलुस र आमसभामा देखिन्थे। देशको आमुल परिवर्तनको आशा गरेर ज्यान फालेका चितवनवासीको अहिले भने ‘जुन जोगी आएपनि कानै चिरेको’ भनेझै भएको छ। 

यस अर्थमा हेर्ने हो भने ‘न संगठन, न सिद्धान्त’, सिंगो अनुहार देखाएको भरमा रविले चुनाव जित्न मुस्किल छ। 

अहिले चितवन २ मा ४७० जना थप भई मतदाताको संख्या १ लाख २४ हजार ६९५ पुगेको छ। यसपटक रविको सोचे जति बाहिरी हल्ला र आकलन जति भोट नआउने कतिपयको तर्क छ। रविको पक्षमा माहोल हुँदाहुँदै पनि यस पटक उनले आफ्नो मत भने जोगाउन नसक्ने कतिपयको आकलन छ।

पुराना दलको आलोचना गरेर आफू फरक हुने भन्दै जनमत लिए पनि त्यो पुरा नभएको केहीले बताए। रविले पनि सत्तालिप्सा र अवसरवादको संकेत देखाएको भन्दै केही मतदाताले असन्तुष्टि जनाएका छन्।

अघिल्लो चुनावभन्दा धैरै भोट घटे पनि जित्ने सम्भावना भने उनको बलियो रहेको कतिपय वताउँछन्। ‘दोहोरो नागरिकता र राहदानी प्रकरणमा दण्डित भएपछि पनि गृहमन्त्री खाने मोहमा पर्दा रविले आफनो साख गुमाए’ एक स्थानीयले भने –‘उनको यस्तो चरित्रले र मन्त्री बनाउन उनैको टिमले व्यापारीसँग २ करोड रुपैयाँ पैसा माग्न लगाएको आशंकालाई बल दिएको छ। यी समग्र कारणले उनको भोट पहिलाभन्दा धेरै घट्ने सम्भावना छ।’

यो पनि,

रवि लामिछाने

विशेष