News

रक्सौल–काठमाडौँ रेलमार्गको डीपीआर कुर्दै प्रचण्डः यस्तो छ भ्रमणको तयारी

रक्सौल–काठमाडौँ रेलमार्गको डीपीआर कुर्दै प्रचण्डः यस्तो छ भ्रमणको तयारी

चीनको निम्तो अस्विकार गरेर वसेका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको चर्चा सुरु भएको छ। वैशाख तेस्रो साता दाहालले भारत भ्रमण गर्ने मोटामोटी तयारी भएपनि मिति भने तोकिएको छैन।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको निम्तो दिएसँगै भ्रमणलाई लक्षित गरी परराष्ट्र मन्त्रालयले तयारी समेत गरिरहेको छ। प्रधानमन्त्रीले आजै कांग्रेस नेता एनपी साउदलाई परराष्ट्र मन्त्री नियुक्ति गर्ने भएका छन्।  वाँकी मन्त्री छोडेर परराष्ट्र मन्त्री नियुक्त गर्न हतारिनुले पनि दाहालको भ्रमणको तयारी चलिरहेको स्पष्ट हुन्छ। 

सरकारले भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै प्रधानमन्त्री दाहाल भारत भ्रमणको मिति तोक्ने तयारी गरको छ।

परराष्ट्र श्रोतका अनुसार भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर बुझाइसकेको छ। केही दिनभित्रै अन्तिम डीपीआर तयार पारिसक्ने र त्यसलगत्तै प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति घोषणा गर्ने सरकारको तयारी छ।

यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल भ्रमणका क्रममा पनि ‘क्वात्राको भ्रमणमा प्रस्तावित काठमाडौं–रक्सौल रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रत रूपमा अगाडि बढाउने सहमति भएको’ जनाईएको थियो।

प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ । नेपालले यो परियोजनालाई अनुदानमा बनाइदिन आग्रह गरे पनि भारतले ऋण वा अनुदान भन्ने स्पष्ट पारेको छैन । नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएदेखि नै दाहाल भारतको निम्तो कुरेर वसेका छन्। प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन (पुस १२ गते) नै उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए ।

उनले अर्को छिमेकी देश चीनले बोआओ फोरम एसिया सम्मेलनमा सहभागी हुन दिएको निम्तो पनि अस्विकार गरे। १० फागुन ०७९ मा चिनियाँ राजदूत छन् सोङ् प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाहाललाई भ्रमणको निम्तो दिएका थिए। 

यसअघि ०६५ को पहिलो कार्यकालमा चीनबाट विदेश भ्रमण सुरु गरेका दाहालले भारतबाट अपेक्षाकृत सहयोग नपाएकाले यस पटक उनी भारतलाई नचिढ्याउने सोचमा रहेको स्रोतले जनाएको छ। दोस्रोपटक ०७३ मा भने भारतबाटै विदेश भ्रमण सुरु गरेपनि अपेक्षित विषयहरु उठाउन नसकेको टिप्पणी भएको थियो।

यो पनि,

प्रचण्ड

विशेष