News विदेश

पूर्वसांसद अतिक अहमदसहित २ को गोली हानेर हत्या, पत्रकारको भीडमा थिए हत्यारा

पूर्वसांसद अतिक अहमदसहित २ को गोली हानेर हत्या, पत्रकारको भीडमा थिए हत्यारा

भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफलाई पत्रकारको भिडबाट गोली प्रहार गरी हत्या गरिएको छ।

प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारहरुसँग कुरा गरीरहेका वेला उनीहरुमाथि गोली प्रहार भएको हो। उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ ।

अतिक र अशरफ पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा छन्। अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले गोली हानेको बताएका छन् । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए । 
अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । सन् २००५ को जनवरीमा पूर्व विधायक राजु पालको हत्याका प्रत्यक्षदर्शी उमेश पाललाई अपहरण गरेर वयान नदिने कागज गराएर छाडेको आरोप अतिक अहमदमाथि लागेको थियो ।

तर सन् २००७ मा उमेशले प्रयागराजको धुमनगञ्ज प्रहरीमा आफूलाई अपहरण र यातना दिएको भन्दै अतिकविरुद्ध उजुरी दिए । यो मुद्दामा सन् २०२३ को फेब्रअुरी २४ मा बयान दिएर फर्किइरहेको बेला उमेशको गोली हानेर हत्या भएको थियो ।

त्यो हत्यामा अतिकका छोरा असद अहमद संलग्न भएको बताइएको छ । असद अहमद र उनका साथी मोहम्मद गुलाम सन् २०२३ को अप्रिल १४ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए । 
 

विशेष