कांग्रेसबाट वडाध्यक्ष जितेका वलीको घरमा पेस्तोल र गोली

रोल्पाको गंगादेव गाउँपालिका–४ का वडा अध्यक्ष कृष्ण वलीको घरमा गोलीसहितको पेस्तोल वरामद भएपछि प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी सरकारी गाडी तोडफोड गरेको आरोपमा अनुसन्धानमा तानिएका वलीको घरमा अवैध हतियार समेत वरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अव दुबै मुद्दामाथि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर प्रकाश भूसालले बताए । वलीले चैत ३० गते गंगादेव गाउँपालिकाको रा १ झ १९१ नम्बरको स्कारपियो गाडी तोडफोड गरेका थिए। वडा अध्यक्ष वलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धीको मुद्दामा अनुसन्धान भईरहेको छ।
गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले वडा अध्यक्ष वलीले मादक पदार्थ सेवन गरेर गाडी तोडफोड गरेको आरोप लगाएका छन्। घटनापछि अनुसन्धान थालेको प्रहरीले उनको घरबाट आधुनिक हतियार र गोली समेत फेला पारेको हो।
हतियार वरामद भएपछि उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पनि अनुशन्धान भईरहेको छ।
स्थानीय तहको निर्वाचन अघिसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सक्रिय कार्यकर्ता रहेका ३३ वर्षीय वली निर्वाचनताका कांग्रेसमा प्रवेश गरेर वडा अध्यक्षमा विजयी भएका थिए ।