News राजनीति

बारा-२ मा कांग्रेसको मत ट्रान्सफर नहुँदा उपेन्द्रलाई अप्ठ्यारो 

बारा-२ मा कांग्रेसको मत ट्रान्सफर नहुँदा उपेन्द्रलाई अप्ठ्यारो 

काठमाडौं । बारा-२ मा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जितका लागि सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसमा निर्भर हुनु परेको छ। आफ्नो पार्टीको बलियो प्रभाव भएको बारा-२ मा संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौतीको विषय बनेको छ। 

केही महिनाअघि यहाँ भएको निर्वाचनको मत परिणाम हेर्ने हो भने यादवलाई चुनाव जित्‍न कठिनाइ हुन नपर्ने भए पनि उपेन्द्र मैदानमा होमिदा भने समस्या भएको हो। मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रमा जसपाका उम्मेदवार विजयी मात्र भएका थिएनन्, सो दलले समानुपातिकतर्फ पनि सबभन्दा धेरै मत ल्याएको थियो। 

उनले १३ हजार २४२ मत ल्याउँदा दोस्रो भएको दल कांग्रेसले ११ हजार १७९ मत ल्याएको थियो। तेस्रोमा एमालेको ९ हजार १९३ मत थियो। चौथोमा जनमत पार्टीको ८ हजार ८४६ मत थियो भने पाँचौंमा लोसपाको ४ हजार २२५ मत छ। अनि माओवादीको ३ हजार २५६ मत छ।

यसपालि बारा-२ मा सत्ता गठबन्धनका तीनै दल कांग्रेस, माओवादी र लोसपाले जसपालाई सघाएका छन्। जसपासहित यी तीनै दलको समानुपातिक मत जोड्ने हो भने ३१ हजार ९ सय २ मत हुन्छ। जबकि जनमत पार्टीको करिब ९ हजार मात्रै मत छ। र एमालेले आफ्नै उम्मेदवार उठाएको छ।

त्यसमाथि मंसिरको निर्वाचनमा जसपाबाटै बागी उठेर ११ हजार ४३ मत ल्याएका रामकिशोर प्रसाद यादव र कांग्रेसबाट असन्तुष्टि जनाउँदै उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रवीन्द्रप्रसाद यादवले यसपालि उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्।

पहिलो कारण, उनलाई पाँच महिनाअघि जसले सप्तरी-२ मा ठूलो मतान्तरले चुनाव हरायो, त्यही व्यक्तिका कारण बारा-२ मा पनि उनी अप्ठ्यारोमा छन्। अर्थात बारा-२ मा उम्मेदवार नै नरहेका जनमत पार्टीका अध्यक्ष सिके राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा पर्न सक्ने देखिएको छ।

बारा-२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भए पनि यो निर्वाचन क्षेत्रका गाउँटोलमा चर्चा सिके राउत र उपेन्द्र यादवको छ। बारा-२ को यो उपनिर्वाचन सप्तरी-२ को 'रि-म्याच' जस्तो देखिएको छ। त्यसैले यहाँ यादवले कुशवाहालाई होइन सिके राउतलाई हराउनु पर्नेछ! सजिलो ठानिएको यो निर्वाचन क्षेत्रमा यादवलाई गाह्रो पर्नुको अर्को कारण कांग्रेसको मत ट्रान्सफर नहुनु पनि रहेको छ। 

यसअघि भएको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेपछि कांग्रेसबाटै बागी उम्मेदवारी परेको थियो भने अहिले उपनिर्वाचनमा पनि जसपालाई समर्थन गरेपछि फेरि कांग्रेसजनहरु रुष्ट बनेका हुन्। मंसिरमा जसका विरुद्ध अभियान चलाइयो अहिले उसैका लागि मत माग्‍न नसकिने भन्दै कांग्रेसीहरु आक्रोशित बनेका छन्।

विशेष