प्रकाश सपुतलाई प्रश्नः तिम्रो गीतको इज्जत महिलाको योनीले कति बोकिरहनु पर्ने हौ?

नेपाली समाजमा विवादको विऊ रोपेर गायक प्रकाश सपुत अमेरिका पुगेका छन्। सपुतको नयाँ गीत ‘सकम्बरी’ ले समाजमा विवाद ल्याएको छ।
विवादको पर्यायका रुपमा चिनिन थालेका सपुतको सकम्वरी युट्युबमा रिलिज भएकै दिनदेखी लगातर ‘ट्रेन्डिङ वान’ मा छ। गीत सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। उक्त गीतमा टिकटक बनाउनेहरु अधिक देखिएका छन्।
तर, उक्त गीतका शब्दहरू स्त्रीद्वेषी भएको भन्दै आलोचना पनि भईरहेको छ। गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न उठाएको आलोचकहरुले वताईरहेका छन्।
गीतमा गाउँमा रहेकी फुलमायाँ (कुसुम शर्मा) लाई एक जना दाई (प्रकाश सपुत) ले मोडल वनाउने आश्वासन दिएर सहर ल्याउँछन्। सहर पुगेपछि फुलमायाँको नाम ‘सकम्बरी’ हुन्छ। दाइले सहयोगको नाममा दुर्ब्यवहार गर्छन् । सकम्वरी त्यही दाइले गीत गाउने रेस्टुरेन्टमै वेट्रेस बन्छिन् । पसलको साहुदेखि त्यहाँ आउने ग्राहकसम्मको कुदृष्टि उनीमाथि परेको छ।
साहुले जबरजस्ती गर्छन्, उनी प्रतिकार गर्दिनन् । उल्टै, त्यही रेस्टुरेन्टमा धाइरहने धनाढ्य ग्राहक(सुनील थापा) लाई आफ्नो यौवन पैसामा साट्छिन। त्यसपछि उनको यौवननै ब्यापार वन्छ।
सकम्बरी पात्र पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’ बाट लिएको देखिन्छ। पारिजातकी पात्र सकम्बरीलाई सपुतले गरेको चित्रण पनि नसुहाएको भन्दै आलोचकहरुले उनले कलानै नवुझेको र पारिजातकी सकम्वरीको वारेमा वुझन नसकेको बताईरहेका छन्।
यादव देवकोटा नामका ट्वीटर प्रयोगकर्ता भन्छन्–‘आफैंले शहरमा ल्याएर जागिरको प्रलोभनमा पारेर यौन शोषण गरेको युवतीको बारेमा पुरुषलाई बडो क्रान्तिकारी चिन्ता छ–तिम्रो कानको झुम्का कसरी आयो?पाउजु कसरी किन्यौ?रातो स्कुटर कसले किन्दियो?तिम्रो बैंसको आयु कति छ? ओ गायक ! तिम्रो गीतको इज्जत महिलाको योनीले कति बोकिरहनु पर्ने हौ?’
तर, कतिपयले भने उनको कलाले समाजको आवाज वोलेको भन्दै समर्थन पनि गरिरहेका छन्। निर्मला ढकाल नामकी ट्वीटर प्रयोगकर्ताले सपुतको गीतलाई यसरी ब्याख्या गरेकी छिन्।
– स्पस्ट छ, कसरी कलिला बालिकालाई यौन शोषण गरिन्छ जसमा नजिकका मान्छे नै पर्छन (दाई देखि काम गर्ने होटल मालिक)
– घरभित्रको जिम्मेवारीले कलिलो उमेरमै काम र दामको खोजीको लागि निस्कनपर्छ ।
– रोजगारको लागि सहज ठाउँ होटल, दोहोरी नै हुन्छन् निम्न बर्गिय र पढाई नभएका युवतीको लागि।
– दोहोरीमै पनि समयसमयमा एचआइभी टेस्ट गराउने कुरा बाहिरिन्छन् जस्को मत्लब यहाँ हुने कार्यलाई स्पस्ट पार्छ, दोहोरी संचालक बिरोधमा उफ्रनुको अर्थ छैन।
– महिलालाई प्रश्न वा दोश भन्दा पनि समाज आँफैले यो दलदलमा फसाउछ र उल्टै प्रश्न गर्छ भन्ने शिक्षा दिन खोजेको बुझे मैले।
– अरु, समाजको जग हल्लाउने गीत संगीत (जुन समाजकै बिम्ब हुन) बजारमा आउँदा यतिको हलचल हुनु सामान्य हो
यसअघि सपुतको ‘पीर’ शीर्षकको गीत पनि विवादमा परेको थियो। गीतको भिडियोमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देह व्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए। व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए।
गीतमा महिला पात्रको प्रस्तुतिलाई लिएर फेरि विवाद भएको विषयमा भने उनले गीतलाई समाजको ऐनाका रुपमा वताएका छन्। आफु विचारहरू सिर्जना गर्दा कुनै न कुनै पक्षको विचारमाथिको टिप्पणी आउँछ भन्ने कुरामा पहिल्यै मानसिक रूपमा तयार हुने गरेको वताएका उनले विचारसहितको सिर्जना विवादरहित नहुने आफुले वुझेको प्रतिक्रिया दिए।