News

मन्त्री नपाएपछि प्रचण्डसँग विच्किए प्रभु साह, किन पुगेन उनलाई भाग ?

मन्त्री नपाएपछि प्रचण्डसँग विच्किए प्रभु साह, किन पुगेन उनलाई भाग ?

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौंपटक मन्त्रिपरिषद विस्तार गरे। तीन महिनाभित्र सातौ पटकको मन्त्रिपरिषद विस्तारमा १७ मन्त्रालयले मन्त्री पाए। अझै पनि  ६ मन्त्रालय मन्त्रीविहीन छन्। खाली मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाल आफैंले सम्हाल्ने छन्।

शुक्रवार एकै पटक १२ जना मन्त्रीले शपथ लिए तर दलहरुको आन्तरिक राजनीतिक संघर्षका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेन। नेपाली कांग्रेस र जसपाले आफ्नो भागका मन्त्रीहरु पठाउनै बाँकी रह्यो भने नयाँ मन्त्रीले शपथ लिएकै दिन सरकारमा रहेको जनमत पार्टी बाहिरियो।

जनमतका एक मन्त्रीले राजीनामा दिएर सरकार छोडेसँगै सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ। 

यता आम जनता पार्टी हिजैदेखी प्रधानमन्त्री दाहालसँग रुष्ट भएको छ। प्रधानमन्त्रीले आफूहरूलाई धोका दिएको अध्यक्ष प्रभु साहले बताएका छन्। आजपाका प्रवक्ता चन्द्र भुषण साहले प्रधानमन्त्रीले प्रभु साहलाई मन्त्री नबनाएर धोका दिएको आरोप लगाएका छन्। 

‘गठबन्धनको बैठकमा स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीको लागी भाग छुट्याउने प्रस्ताव गर्नू, निर्णय गर्नू र बाहिर प्रचार पनि गर्नू तर सरकार पुर्नगठन गर्दा भने आम जनता पार्टीलाई सहभागी नगराउनु हामी प्रतिको अपमानजनक धोखा हो,’ उनले भनेका छन्। 

प्रधानमन्त्री दाहालले प्रभु साहलाई मन्त्री बनाउने बचन दिएका थिए। तर, अन्तिम समयमा साहलाई छुटाएपछि आजपा असन्तुष्ट बनेको हो।

विशेष