News

रवि लामिछानेले ऐन मिचेर लगाएको ठेक्का रद्द गर्दै नारायणकाजी

रवि लामिछानेले ऐन मिचेर लगाएको ठेक्का रद्द गर्दै नारायणकाजी

पूर्वगृहमन्त्री रवि लामिछानेले नागरिकका व्यक्तिगत विवरण रुजु गर्ने संयन्त्रको जिम्मा निजी कम्पनीलाई दिने गरी ल्याएको कार्यविधि गृहमन्त्री नारायणकाजी श्रेष्ठले खारेज गर्ने तयारी गरेका छन्। लामिछानेले सार्वजनिक खरिद ऐन विपरीतका मापदण्ड राखेर यो कार्याविधि ल्याएका थिए।

सोही कार्यविधि अनुसार सार्वजनिक खरिद ऐनविपरीत लगाईएको ठेक्का पनि रद्द हुने भएको छ। रविको यो निर्णयले देशको सूचना अन्यत्र लैजाने, नागरिकको पैसा एजेन्टले लैजाने गरी काम गरेको देखिएपछि त्यसलाई रद्द गर्न लागिएको श्रेष्ठको सचिवालयले जनाएको छ।

पुस ११ गते मन्त्रीको शपथ लिएका लामिछानेले १३ गते उक्त कार्यविधि स्वीकृत गरेका थिए। कार्यविधिबारे मन्त्रालयका कर्मचारीले ब्रिफ गरेपछि आफूले स्वीकृत गरेको लामिछानेले बताएका छन्।

ब्रिफिङअनुसार आफूले नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको रविले स्वीकार गरेका थिए। सामाजिक सञ्जालमार्फत उनले प्रचलित कानुनले विभागीय मन्त्रीलाई दिएको अधिकारबमोजिम कार्यविधि स्वीकृत गरेको बताएका छन्।

रवि आफैंले पनि ७ दिनको म्याद राखेर बोलपत्र आह्वान गरिएको विषय प्रचलित सार्वजनिक खरिद ऐन र नियमावलीसँग मिलेको नदेखिएको स्वीकार गरेका छन्। 

यो कार्यविधि र खरिद ऐन बाझिएमा सोही ऐनमा भएको व्यवस्था लागू हुने पनि उल्लेख रहेको रविले बताएका छन्। राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका जैविक र वैयक्तिक विवरण आवश्यक परेका बेला रुजु गर्ने संयन्त्र सरकार आफैंले बनाउने गरी पहल भइरहेको थियो। 

तर उनले निजी कम्पनीलाई दिने गरी कार्यविधि स्वीकृत गरेका थिए। सार्वजनिक सेवा लिन झञ्झट भएको भन्दै यस्तो प्रणाली बनाउन लागिएको हो। निजी कम्पनीलाई यसको जिम्मा दिँदा नागरिकलाई आर्थिक भार पर्ने भन्दै सरकारले नै काम गर्ने गरी छलफल भइरहेको थियो। 

यसअघि बालकृष्ण खाण गृहमन्त्री हुँदै कार्यविधिका बारेमा जानकारी गराइएको भन्दै उनले तत्काल स्वीकृत नगर्ने र अध्ययन गर्ने भन्दै रोकेका थिए। 

लामिछाने गृहमन्त्री भएको एक महिनाभित्रैमा कार्यविधि स्वीकृत गराएर पनि ठेक्का दिइसकेका छन्। १३ पुसमा कार्यविधि स्वीकृत भएपछि पुस २७ मा एक साताको म्याद राखेर बोलपत्र आह्वान गरिएको थियो। माघ १२ गते एड्भान्टेज इन्टरनेसनल प्रालिलाई ठेक्का दिइएको थियो। यो कम्पनी बाहेकले प्रस्ताव समेत पेस गरेका थिएनन्। 

सार्वजनिक खरिद ऐन अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा कम्तीमा ४५ दिन र राष्ट्रिय बोलपत्र गर्दा कम्तीमा ३० दिनको म्याद राख्नु पर्ने उल्लेख छ। 
 

विशेष