News

राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा पुग्नुपर्ने गाडी कसरी पुग्यो दमौली ?

राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा पुग्नुपर्ने गाडी कसरी पुग्यो दमौली ?

पूर्वसभामुखको हैसियतमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रयोग गर्दै आएको बा १ झ १३६० नम्बरको गाडी फिर्ता नगरेको भन्दै मंगलवार निकै हल्लीखल्ली भयो। तर, साँझपख पौडेलले गाडी फिर्ता गरेको समाचार सार्वजनिक भए।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा ७ को उपदफा ३ मा पदाधिकारीले पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न मिल्ने उल्लेख छ।

तर, व्यावहारिक रुपमा गाडी फिर्ताका लागि संघीय संसद सचिवालयले १५ दिनसम्म समय दिने गरेको छ। पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिनसम्म पनि गाडी फिर्ता नभएपछि खोजविन सुरु भयो। यसैक्रममा मंगलवार गाडी फिर्ता आएको सूचना आयो।

गाडी राष्ट्रपति कार्यालयबाट फिर्ता पठाएको तर संसद् सचिवालयमा नपुगेको भन्दै  संसद् सचिवालयले गाडीका बारेमा अनविज्ञता प्रकट गरेपछि राष्ट्रपति कार्यालयले त्यसमा आपत्ति प्रकट गरेको थियो ।

२०५१ सालमा सभामुख भएका रामचन्द्र पौडेल २०७९ फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । योबीचमा उनी पटक–पटक सांसद र मन्त्रीसमेत भए। तर, उनले पूर्वसभामुखको हैसियतमा संसद् सचिवालयबाट लिएको गाडी फिर्ता गरेको रेकर्ड संसद् सचिवालयमा थिएन ।

स्रोतका अनुसार गाडी राष्ट्रपति कार्यालयमा नभइ दमौलीमा भेटिएको छ। दमौली राष्ट्रपति रामचन्द्र पौडेलको गृहनगर हो । गाडी दमौलीमा रहेको कुरा राष्ट्रपति पौडेललाई समेत जानकारी थिएन । 

गाडी कुन प्रयोजनको लागि कस्ले दमौली लग्यो भन्ने अहिलेसम्म खुलेको छ। राष्ट्रपति शीतलनिवासमै रहेका बेला उक्त गाडी उनका नातेदार, पारिवारिक सदस्य वा पूर्वपार्टीका कार्यकर्ताको दमौली लगेको हुन सक्ने आशंका छ।

स्रोतकाअनुसार राष्ट्रपति निर्वाचित भएलगत्तै पशुपति, गुह्येश्वरी र सुन्दरीजल पुग्दा पौडेलले त्यही गाडीको प्रयोग गरेका थिए । मंगलवार देब्रे साइडको पछाडि कोरिएको अवस्थामा उक्त गाडी फिर्ता भएको छ।

राष्ट्रपति कार्यालय संसद् सचिवालय गाडी दमौली

विशेष