News

राष्ट्रपतिलाई भारत पु-याएकोमा डाक्टरले उठाए प्रश्नः भारत लैजानुपर्ने कारण देशले थाहा पाउनुपर्छ 

राष्ट्रपतिलाई भारत पु-याएकोमा डाक्टरले उठाए प्रश्नः भारत लैजानुपर्ने कारण देशले थाहा पाउनुपर्छ 

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचार गर्न भारत पुर्याईएको विषयमा प्रश्न उठेको छ। ‘वीर अस्पतालमै दक्ष जनशक्ति र स्रोत साधन हुँदाहुँदै किन विदेश लगिएको हो’ भन्ने प्रश्नको जवाफ दिनु पर्ने आवाज उठेको छ।

सामाजिक सञ्जालमा डा. अनिल बरालले राष्ट्रपतिलाई उपचार गर्न भारत लैजानुपर्ने कारण देशले थाह पाउनुपर्ने बताएका छन्।

‘एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ। स्रोत र साधन पनि अहिले राम्रै छन् यहाँ’ उनले ट्वीटरमा लेखेका छन्, ‘के कारणले विदेश लान परेको हो, देशले थाहा पाउनुपर्ने हैन र? हामी त सधैँ कोही र केही नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या!’

राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आजै भारत लगिएको छ। उनलाई श्री एयरलाइन्समार्फत भारतको नयाँ दिल्ली लगिएको हो। 

नयाँ दिल्लीको एम्स हस्पिटलमा राष्ट्रपतिको उपचार सुरु भएको छ। राष्ट्रपति पौडेललाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
 
राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि ६ दिन अघिमात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए। 

तर, स्वास्थ्य समस्या बढेपछि उनलाई मंगलबार पुनः अस्पताल भर्ना गरिएको थियो। 
 

रामचन्द्र पौडेल राष्ट्रपति

विशेष