हर्क साम्पाङले मागे वडाध्यक्षहरुको राजिनमा
ढुङ्गा र पायपको प्रचार गरेर चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरूको राजिनामा मागेका छन् । कार्यपालिका वैठक वहिस्कार गरेको झोकमा उनले वडाध्यक्षहरुको राजिनामा मागेका हुन।
‘विगत केही महिना देखि बिना कुनै खास कारण पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र बिकास पाउनु पर्ने अधिकार माथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था छ’ साम्पाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘वडाहरुमा के कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहन पर्ने कुनै कारण छैन।’
वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।
‘जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने भाँडभैलो मचाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नु पर्ने कुनै कारण छैन। मैले बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको हुँ । बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य हो।’ उनले भनेका छन्–‘कसैले म बैठक बस्दिन भन्न पाइँदैन। त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिएर बाटो प्रसस्त गर्न अनुरोध छ ।’
यसअघि पुस १ गते पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए ।