News

चालक शम्भु छतबाट खस्दा को–को थिए रविको घरमा ? ९ जनाको नाम खुल्यो

चालक शम्भु छतबाट खस्दा को–को थिए रविको घरमा ? ९ जनाको नाम खुल्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक ३९ वर्षीय दिलबहादुर थापा (शम्भु) घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ ।

आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् एसपी रामेश्वर कार्कीले बताए । घटना अनुसन्धानका क्रममा प्रहरीले सोमबार रास्वपाकै महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसित सोधपुछ गरेको थियो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का शम्भु र राजवंशी आइतबार राति एउटै कोठामा सुतेका थिए । लामिछानेका चालक थापा सोमबार घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको एसपी कार्कीले बताए ।

थापा छतबाट झरेर गम्भीर घाइते हुँदा लामिछानेको घरमा नौ जना रहेको पाईएको छ। तर, बाँकी ७ जनासँग प्रहरीले सामान्य सोधपुछ समेत गरेको छैन। घटनाको दिन रवि लामिछानेको टोली नै तनहुँबाट बेलुका ११ बजेतिर भरतपुर आएको थियो।

दुई चालकसँगै रवि लामिछाने, उनकी श्रीमती निकिता पौडेल, रास्वापाका केन्द्रीय सदस्य दीपक बोहोरा, उनकी श्रीमती, क्यामेराम्यान दीपेन्द्र तामाङ र कुशल राई तथा असिस्टेन्ट अस्मिता लामिछाने त्यही घरमा बसेका थिए। यस घटनापछि थप उपचारका लागि शम्भुलाई काठमाडौं ल्याइएको छ। तर उनको स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले वताएका छन्।

प्रहरीका अनुसार शम्भु खसेको सीसीटीभीको दृष्यको प्राविधिक विश्लेषणमा आफैं खसेको प्रकृतिको नदेखिएपछि ढकालका चालकलाई भने सोधपुछ गरिएको छ। ‘सीसीटीभीमा देखिएको दृष्यले प्राकृतिक रूपमा होसहवासमै खसेको जस्तो देखिएन। निर्जीव वस्तु खसेझैं खसेका छन्,’ अनुसन्धान स्रोतले भन्यो, ‘कि अत्यधिक मदिरा सेवन वा कसैले खसालेको हुनसक्छ। यही हो भन्नसक्ने अवस्थामा अनुसन्धान पुगेको छैन।’

रवि लामिछाने

विशेष