News

प्रधानमन्त्रीलाई स्वर्णीमको काउन्टरः मन्त्रिमण्डल पूर्णता दिन नसक्नेले मन्त्री बाँड्दै हिँडे

प्रधानमन्त्रीलाई स्वर्णीमको काउन्टरः मन्त्रिमण्डल पूर्णता दिन नसक्नेले मन्त्री बाँड्दै हिँडे

तनहुँ क्षेत्र– १ मा पुगेर कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन जिताएर पठाए आफूले मन्त्री बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई रास्वपा उम्मेदवार डा स्वर्णीम वाग्लेले तत्कालै जवाफ फर्काएका छ।

वाग्लेले आफ्नो मन्त्रिमण्डल पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मन्त्री बाँड्दै हिँडेको भन्दै जवाफ फर्काएका हुन। बुधबार मात्रै प्रधानमन्त्री दाहालले तनहुँ पुगेर भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने वताएका थिए।

उक्त अभिव्यक्तिलाई खण्डन गर्दै वाग्लेले चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्ने क्रममा उक्त कुरा बताएका हुन्। 

‘प्रधानमन्त्री तनहुँमा हेलिकोप्टर लिएर आउनुभएको छ। प्रधानमन्त्री मन्त्री पद बाँड्दै हिँड्नुभएको छ। स्वर्णीम वाग्लेलाई हराऊ म मन्त्री बनाउँछु भन्नुभएको छ,’ वाग्लेले भने,‘ अहिले भइरहेको मन्त्रिमण्डल पनि पूरा गर्न नसकेका व्यक्तिले मन्त्री बाँड्दै हिँडेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो हैन।’

प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिको गर्दै जता गयो उतैका उम्मेदवारलाई मन्त्री वनाउँने बाचा गर्दै हिड्ने गरेका छन्। ओलीले ०७४ सालको निर्वाचनमा ताप्लेजुङ पुगेर योगेश भट्टराईलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने वाचा गरेका थिए। चुनाव जितेपछि भट्टराई मन्त्री भए। 

त्यसपछि दाहालले ओलीको सिको गर्दै मन्त्री बाँड्दै हिड्ने गरेका छन्। गत मंसिर ४ गतेको निर्वाचनमा पनि उनले धेरै ठाउँमा पुगेर यही बाचा गरेका थिए। तर मन्त्री मण्डल वनाउने क्रममा भने उनीहरुलाई सम्झेको पाईएको छैन।

यस विषयमा रास्वपाका तनहुँ संयोजक सूर्यमणि पौडेलले बिहीबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी समेत दिएका छन् । 

प्रधानमन्त्री दाहाल पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै उजुरीमा कारवाहीको माग गरिएको छ।

‘गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहन्छौं’– पौडेलले दिएको उजुरीमा भनिएको छ। 
 

स्वर्णिम वाग्ले

विशेष