News खेल

राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

बुधवारदेखि सुरु भएको अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिनको खेलमा एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेर नयाँ रेकर्ड वनाएका छन।

बाग्मतीका दाइ इन्द्रबहादुर श्रेष्ठ तथा उनका बहिनी देवकी र निशाले पनि स्वर्ण जितेका हुन् । प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई पराजित गर्दै स्वर्ण जितेका हुन।

फाइनल जित्न इन्द्रलाई मात्र १६ सेकेन्ड लागेको थियो। चार मिनेटको पूरा खेलमा इन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनीषलाई १६ सेकेन्डमै हराएका थिए ।

५२ केजी मुनिको प्रतिस्पर्धामा देवकीले आर्मीकी रोशना दंगाललाई हराउँदै स्वर्ण जितिन भने महिला ४८ केजी मुनिको प्रतिस्पर्धामा निशाले एपीएफ क्लबकी रत्ना तामाङलाई हराएर स्वर्ण जितेकी हुन।

इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । प्रतियोगिताको बुधवारको खेलमा पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धा समावेश थिए। जसमा ७ स्वर्णको छिनोफानो भएको छ ।

प्रतियोगिताको अन्तिम दिन बिहीबार बाँकी ७ स्पर्धाको फाइनल हुनेछ । यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् ।

उनका अनुसार प्रत्येक तौल समूहबाट ४ खेलाडी प्रारम्भिक चरणमा छनोट हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी ११६ खेलाडी सहभागी छन् । 
 

राष्ट्रिय जुडो प्रतियोगिता

विशेष