News विदेश

राहुल गान्धीको पुनरावेदन सेसन कोर्टद्वारा खारेज

राहुल गान्धीको पुनरावेदन सेसन कोर्टद्वारा खारेज

भारतको सुरतको तल्लो अदालतले मानहानीको मुद्दामा आफुविरुद्ध गरेको निर्णय विरुद्ध पुनरावेदन गरेका कांग्रेस नेता राहुल गान्धीको पुनरावेदन सुरतको सेसन कोर्टले खारेज गरिदिएको छ । बिहीबार उनको पुनरावेदन खारेज भएको हो।

सुरतको एक अदालतबाट दोषी ठहर भएका गान्धीले उक्त फैसलाविरुद्ध सेसन कोर्टमा गत अप्रिल ३ मा पुनरावेदन दिएका थिए । गत अप्रिल १३ मै यस मुद्दाको सुनुवाइ भए पनि फैसला सुरक्षित राखिएको थियो । अदालतले बिहीबार आफ्नो फैसला सुनाएको हो । पुनरावेदनमा गान्धीले आफूलाई अधिकतम सजाय दिन आवश्यक नभएको बताएका थिए ।

फैसला नआएसम्मलाई अदालतले उनलाई धरौटीमा रहने छुट दिएको छ । सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका थिए ।

भारतमा २ वर्षभन्दा बढी कैद सजाए पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ । सन् २०१९ को चुनावी सभामा ’सबै चोरको थर मोदी नै किन हुन्छ ?’ भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको हो ।

विशेष