News विदेश

नेपाल र चीनबीचको हवाई उडान पुरानै अवस्था किन सुरु भएन ?

नेपाल र चीनबीचको हवाई उडान पुरानै अवस्था किन सुरु भएन ?

नेपाल र चीनका अधिकारीहरूले केरुङपछि सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाकाबाट दुई पक्षीय व्यापार र आवतजावतलाई पहिलेकै स्थितिमा पु-याउने तयारी अघि बढाउँदा उडानहरू भने सीमित संख्यामा मात्रै भइरहेको अधिकारीहरूले बताएका छन्।

हाल रसुवागढी केरुङ नाकामार्फत् सवारी साधन र मानिस दुवैको आवतजावत भइरहेको छ भने आगामी मे १ बाट तातोपानी र हिल्सा नाका सञ्चालनमा ल्याउने तयारी भएको बताइएको छ। यसअघि अधिकारीहरूले नेपाल र चीनबीचका प्रत्यक्ष हवाई उडानलाई निरन्तरता दिने बताएका थिए।

कोभिड–१९ महामारीका कारण वर्षौ ठप्प भएको हवाई उडान र स्थलमार्ग सञ्चालनको पछिल्लो प्रगति के छ?

नेपाल चीन उडान नियमित हुने प्रक्रियामै
नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूका अनुसार विगतको तुलनामा नेपाल र चीनबीचको उडानको संख्या उल्लेख्य रूपमा घटेको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अहिले ‘कोभिड अघि जस्तो उडानहरू नभएको र फाट्टफुट्ट मात्रै उडानहरू’ भइरहेको बताए।

उनले भने, “चीनको तर्फबाट ३ वटा र हाम्रोतर्फबाट हिमालय एअरलाइन्सले उडान गर्दै आएका छन्। पहिला हप्तामा सातै दिन थियो र दिनमै दुईवटासम्म उडान थियो। तर अहिले छैन। अहिले हप्तामा एउटा वा दुई वटा उडानहरू भइरहेका छन्।”

उनले चिनियाँ पर्यटकहरूको आगमनमा वृद्धि हुने अवस्था आए उडानहरू वृद्धि हुने अपेक्षा गरेको बताए। पर्यटन व्यवसायी विश्वेस श्रेष्ठ चिनियाँ पर्यटकहरूको संख्या र उडान दुवै वृद्धि हुने ठान्छन्।

उनले भने, “तीन वर्षपछि पहिलो पटक व्यापार प्रवर्द्धन गर्न अहिले हाम्रो टोली गइरहेको छ। नेपाल पर्यटन बोर्ड सहित टुर अपरेटरहरू अहिले त्यही छन्। बेइजिङको कार्यक्रम भर्खरै सकियो। छेङ्दु र कुनमिङमा पनि कार्यक्रम गर्ने तालिका छ।”

सकारात्मक प्रतिक्रिया आइरहेकाले आफूहरू पर्यटक र उडानहरू बढ्नेमा आशावादी रहेको उनले बताए। 

कहिले वृद्धि होला उडानको संख्या
कुन्मिङमा नियमित उडान गर्ने गरेको हिमालय एअरलाइन्सले बेइजिङमा पनि प्रत्यक्ष उडान गर्ने घोषणा गरेको थियो। कुन्मिङ र बेइजिङ दुवैमा अहिले उक्त एअरलाइन्सले चार्टड उडान मात्रै गर्दै आएको छ।

पर्यटन व्यवसायी श्रेष्ठका अनुसार एअर चाइना, चाइना साउदर्न र सिचुआन एअरले न्यून सङ्ख्यामा भएपनि उडानहरू गर्दै आएका छन्। उनले टिकटको मूल्य पनि बढी भएको उल्लेख गर्दै त्यसका कारण पर्यटन ‘लयमा फर्कन नसकेको’ जनाए।

अघिल्लो महिना सम्पन्न सीमा व्यापार तथा सहकार्य सम्बन्धी दुई पक्षीय संयन्त्रको बैठकमा नेपालले चीनलाई ल्हासासम्मको प्रत्यक्ष उडान सुचारु गर्न अनुरोध गरेको थियो।

उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले ल्हासा विमानस्थलमा मर्मत सम्भारको कार्य चलिरहेको र त्यो सम्पन्न भएलगत्तै उडानहरू हुने जानकारी चिनियाँ पक्षले गराएको बताए।

नेपालमा भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये पहिला भारतीय र त्यसपछि चिनियाँ छन्। कोभिड महामारीको समयमा बेइजिङले यात्रा प्रतिबन्ध लगाएपछि चीनबाट आउने पर्यटकको संख्या लगभग शून्यमा सीमित भएको थियो।

स्थल नाकाहरूको ताजा अवस्था के छ?
सचिव मरासिनीको नेतृत्वको प्रतिनिधिमण्डलले ल्हासामा चिनियाँ अधिकारीहरूसँग गरेको वार्ता लगत्तै केरुङ नाका एप्रिल १ बाटै पूर्ण स्तरमा सञ्चालनमा आएको थियो।

तर सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका मे १ बाट सञ्चालनमा गर्ने प्रतिवद्धता दुवै देशका अधिकारीहरूले जनाएका थिए।

मङ्गलवार नेपाल र चीनका अधिकारीहरूबीच सिन्धुपाल्चोक नाका आयात र निर्यात दुवैका लागि वैशाख १८ गतेबाट सुचारु गर्ने सहमति भएको थियो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने भन्छन्, “नाका सञ्चालन भइसकेपछि त्यसलाई सुरक्षाको दृष्टिकोणले कसरी व्यवस्थित गर्ने भन्नेबारे हामीले हाम्रा चिनियाँ समकक्षीसँग छलफल ग¥यौँ। अहिले दुईतर्फी रूपमा नै नाका सञ्चालन गर्ने भन्ने कुरा भएको छ।”

व्यवसायीहरूले तातोपानी नाकाबाट मालवाहक सवारी साधन र यात्री दुवैको सहज आवागमनको व्यवस्थापन गरिनुपर्ने अपेक्षा गरिरहेका छन्।

व्यवसायीको अपेक्षा र सरकारको भनाइ
नेपाल हिमालय पार व्यापार सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठ भन्छन्, “केरुङमा नै पनि अहिले स्थानीयहरूलाई मात्रै आउन जान दिइरहेको छ। त्यो नेपाल सरकारले सम्बोधन गर्नुपर्ने विषय हो। समानहरू निर्यात भइरहेको छ, ट्रकहरू पनि माथिसम्मै गइरहेको छ।”

उनले थपे, “तातोपानीमा पनि मालवाहक सवारी साधन बाहेक आवतजावत सबै सहज भइदिए हुन्थ्यो भन्ने हाम्रो भनाई हो।”

विक्रम सम्वत २०७२ को विनाशकारी भूकम्पअघि तातोपानी नेपाल चीन व्यापारको मुल केन्द्र रहेको थियो।

तर भूकम्पका कारण सडक र अन्य पूर्वाधारमा गम्भीर क्षति पुगेको उक्त क्षेत्रमा अहिले पहिलेजस्तो चहलपहल छैन। त्यहाँ व्यापार समेत एकतर्फी रूपमा हुने गरेको थियो।

चीनले आफ्नो तिरको बजारलाई नै स्थानान्तरण गरेको छ भने नेपालतर्फ पनि धेरै मानिसहरू विस्थापित भएको श्रेष्ठले बताए।

कोभिड महामारीको समयमा नेपाल चीन नाकाहरूमा बारम्बार अवरोध देखिएपछि कतिपय व्यवसायीहरूले त्यसलाई नाकाबन्दीसँग तुलना गरेका थिए।

तर त्यसबेला बीबीसीलाई दिएको प्रतिक्रियामा चिनियाँ दूतावासले नाकाबन्दी नभएको र महामारीका कारण त्यस्तो अवस्था आएको जनाएको थियो।

अहिले पनि व्यवसायीहरू पुरानो अवस्थालाई ‘दुर्भाग्यपूर्ण परिस्थिति’ का रूपमा उल्लेख गर्छन्। वाणिज्य मन्त्रालयका सचिव मरासिनीले तातोपानीमार्फत दुईपक्षीय व्यापार हुने र हिल्सामार्फत दुईपक्षीय व्यापार र यात्रुहरूको आवतजावत दुवै अघि बढ्ने बताए।

सन् २०२२ मा नेपालबाट चीनमा हुने आयात १ दशमलव ८४ अर्ब डलर रहेको थियो। नेपालले चीनमा ५०.३९ लाख डलर भन्दा बढीको निर्यात गरेको थियो। आँकडाले सन् २०२१ को तुलनामा आयात र निर्यात दुवै कम भएको देखाएको छ।

नेपालको पूर्वाधार क्षेत्रमा पनि चीनको उल्लेख्य लगानी रहेको छ।
बीबीसी नेपाली

विशेष