News

खर्च कटौतीको प्रभाव प्रहरीमाः वैशाखदेखि असारसम्म तलब नपाउने !

खर्च कटौतीको प्रभाव प्रहरीमाः वैशाखदेखि असारसम्म तलब नपाउने !

नेपाल प्रहरीका ७७ हजार जवानदेखि अधिकृतसम्मको असारसम्मको तलवभत्ता रोकिएको छ। चैतको पनि सवै प्रहरीले तलव पाएका छैनन्। अव सवै प्रहरीले साउनदेखि मात्रै तलव पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा सरकारले प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । तर, बढेको रकमबराबरको बजेट नआएकाले तलव रोकिने सम्भावना वढेको प्रहरी प्रधान कार्यालयको भनाई छ।

बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको र उनीहरूलाई एकैपटक आउँदो साउनमा एकमुष्ट जोडेर तलब दिइने सम्भावना रहेको प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए।

तलब अभावबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताएका उनले भने–‘पछिल्लो समय तलब पनि बढ्यो । त्योसँगै विभिन्न नयाँ पद सिर्जना भए । नयाँ पदसँगै उनीहरूको तलब सुविधा पनि बढ्यो । तर, बजेट पुरानै भएकाले तलब खुवाउन समस्या भएको हो । तर, सरकारबाट रकम निकासी भए समस्या हुँदैन ।’

प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ तर, ७७ हजार जना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव प्रहरीमा पनि परेको छ । प्रहरी अधिकारीहरूका अनुसार खर्च कटौतीका कारण तालिमलगायत महत्वपूर्ण कामका लागि समेत बजेट अभाव हुन थालेको छ ।

प्रहरीमा गत वर्ष साउन १ गतेदखि नयाँ तलब स्केल लागु भएको थियो । हाल प्रहरी आईजीपीको तलब ६६ हजार ८६० रुपैयाँ छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् । बजेट अभावले अरू सरकारी निकायमा पनि तलब सुविधा दिन समस्या भएको जनाइएको छ । 
 

विशेष