News खेल

ओमान विरुद्ध नेपालको सहज जित, एकपछि अर्को कीर्तिमान

ओमान विरुद्ध नेपालको सहज जित, एकपछि अर्को कीर्तिमान

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना वढेको छ। ओमानमाथि ८४ रनको सानदार जित हात पारेपछि नेपालको सेमिफाईनल प्रवेश गर्ने सम्भावना वढेको हो।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्यो । यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

आज कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि नेपालले ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनाएको हो।

जवाफमा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । नेपालको सुरुवात निकै खराब थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट हुँदा नेपालले खाता नै खोल्न सकेको थिएन । कुशल भुर्तेललाई तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा पारे भने आसिफलाई कलिमुल्लाहले चौथो ओभरमा बोल्ड गरे ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औं बलमा बल्ल रनको खाता खोलेको थियो । यसक्रममा कुशल मल्लले करियरको पहिलो शतक बनाए ।

त्यसअघि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय (५४) साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। १८औं ओभरमा रोहित ३४ बलमा २३ रन बनाएर आउट भए । भीम पनि २०औं ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले व्यक्तिगत ३३ रन जोडेका थिए ।

कुशलले आरिफ शेखसँग मिलेर इनिङ्स सम्हाले । दुवैले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट भए । कुशल भने क्रिजमा जमिरहे ।

कुशलले ३९औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै शतक पूरा गरे । ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १०० रन पूरा गरेका उनी नेपालका लागि सबभन्दा छिटो ओडीआई शतक प्रहार गर्ने क्रिकेटर बने । कुशल मल्ल ओडीआईमा सर्वाधिक रन बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन् । थप ८ रन जोडेर उनी आउट भए, जतिबेला नेपालको स्कोर २२१ रन थियो ।

त्यसपछि सोमपाल र करण केसीले नवौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरेपछि नेपालले कीर्तिमान स्कोर बनायो । सोमपालले ६३ र करण २९ रन अविजित रहे । ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

३११ रनको लक्ष्य पछ्याएको ओमानलाई सस्तैमा आउट गर्ने क्रममा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६÷११ हो । ओमान विरुद्ध सन्दीप र करण केसीले ३÷३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए ।

विशेष