News

प्रहरीकै अगाडि महिलालाई बाघले घिसार्दै लगेपछि...

प्रहरीकै अगाडि महिलालाई बाघले घिसार्दै लगेपछि...

कञ्चनपुरमा घाँस काट्न गएकी एक महिलालाई आफनै अगाडि बाघले लगेपछि प्रहरीले ७ राउण्ड गोली प्रहार गरेको छ।

बेलौरी नगरपालिका–८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको हो। गंगालाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास गरिएको थियो।

सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो। बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिन थालेको छ। बस्तीमै बाघ देखिन थालेपछि बाघको अनुगमनका लागी राखिएका क्यामेरामा भने बाघ देखिएको छैन । भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्तीमा राखिएको क्यामरामा बाघ नदेखिएको हो । निकुञ्जसँग जोडिएको बस्तीमा दिनहुँ बाघ देखिन थालेपछि पहिचानका लागि डेढ साताअघि उक्त क्षेत्रमा स्वचालित क्यामरा राखिएको थियो ।

लालझाडी मोहना करिडोरमा पर्ने पुनर्वास नगरपालिका–११ को गंगा जमुना सामुदायिक वन र कैलालीको धनगढी उपमहानगरपालिका–३ मा एक÷एक जोडी क्यामरा राखिएको थियो । यसैगरी बेलौरी नगरपालिका–२ को थापा चोकमा एक जोडी क्यामरा जडान गरिएको हो । पुनर्वासको ‘घ’ गाउँमा भने शुक्रबार बाघ देखिएको थियो ।

चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका १० की एक महिलाको मृत्यु भएको थियो।

विशेष