News

प्रधानमन्त्री दाहालको भारत भ्रमण वैशाख २४ देखि २६ गतेसम्म

प्रधानमन्त्री दाहालको भारत भ्रमण वैशाख २४ देखि २६ गतेसम्म

प्रधानमन्त्री पुष्पकमल दाहाल वैशाख २४ गतेदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण मिति तय गरेको हो। भारतीय प्रधानमन्त्रीको कार्यतालिकालाई ध्यानमा राखेर आपसी सहमतिमा भ्रमणको मिति तय गरिएको परराष्ट्रले जनाएको छ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति घोषणा गर्नेछ। २७ वैशाखमा कर्नाटकामा चुनाव छ भने ५ जेठमा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जाँदै छन्। त्यसैले चुनावअघि नै भ्रमणको तयारी गरिएको हो।

सोहीअनुरुप परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन्। हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधानमन्त्री दाहालले ग्रहण गरेका छन्।

तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालको भारत भ्रमण पहिलो विदेश भ्रमण हुनेछ। गएको पुसमा प्रधानमन्त्री नियुक्त भएपछि दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने सार्वजनिक रूपमा बताएका थिए।

गत मंसिरको चुनावपछि प्रधानमन्त्री बन्न उनलाई नेकपा एमालेले सघाएको थियो तर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै उनले गठबन्धन फेर्ने बाटो रोजेका थिए। अहिले उनलाई संसदको सवैभन्दा ठुलो दल कांग्रेसले समर्थन गरेको छ।
 

विशेष