मुकुन्द न्यौपाने एमाले प्रवेश, सचिव रामकुमारी झाँक्री नै भन्छिन– नेकपा एस चल्दैन
नेकपा एकीकृत समाजवादी पार्टी छोडेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन्।
एकीकृत समाजवादीमा तेस्रो वरियतामा रहेका नेता न्यौपानेले गत चैत २५ गते पार्टी परित्यागको घोषणा गरेका थिए। पार्टी परित्याग गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुने निष्कर्ष निकालेको बताएका थिए।
यसअघि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने, स्थायी कमिटी सदस्य चुढामणि जंगलीसहितका नेताहरुले नेकपा एस चल्दै नचल्ने ठोकुवासहित पार्टी परित्याग गरिसकेका छन् भने नेकपा एसकी सचिव रामकुमारी झाँक्री समेत नेकपा एस नचल्ने निस्कर्षमा पुगेकी छिन्।
‘हामीले ठीकै गरिराको छौं कि हामीले आफ्नो कमी कमजोरी स्वीकार गरेर जाने हो ? अहिले जे भइरहेको छ, म यस्मा पटक्कै सन्तुष्ट छैन , झाँक्रीले एउटा टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा भनेकी छिन्–‘यो समाजवादी पार्टी त झनै नचल्ने अवस्था छ । हामी अनुमोदन भएनौं भन्ने कुरा हामीले थाह पाइराख्नु पर्छ । थ्रेसहोल्ड पनि काटेन । जनताले अस्वीकार गरे । यो सच्चाइ हो ।’
उनले नेकपा एमालेबाट छुट्टिएर आएपछि आफूहरु खरानी बनेको स्वीकारेकी छिन्। पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले आफ्नो पार्टीले कांग्रेसलाई ठूलो बनाउनेबाहेक अरु कुनै काम गर्न नसकेको र आगामी दिनमा पनि यही हुने बताएकी छिन्।
‘नेकपा एमाले जस्तो बिशाल कम्युनिष्ट पार्टीलाई ब्रेक गरेर हामी खरानी भएर, हाम्रो खरानीमा अरु कोही ठूलो भएको हो क्या । हामीले एमाले पार्टी ब्रेक गरेर हामी छुट्टिएर आएर हामी खरानी भयौं । एक हिसावले भन्ने हो भने हामीले एमालेलाई धक्का दियौं, क्षती गरायौं । उस्को क्षती र हाम्रो खरानीमा अरु कोही बढेको हो नि त’–सचिव झाँक्रीले भनेकी छिन्।