चीनियाँ ब्यापारीको कब्जामा ठमेल, विस्थापित हुँदै स्थानीय ब्यापारी
ठमेलकै शैलीमा वजार विगारेपछि चिनियाँ विरुद्ध केन्याका व्यवसायी आन्दोलित
नेपालमा विदेशी पर्यटकको रोजाइको गन्तव्य हो ठमेल। विदेशी पर्यटकको बाक्लो आगमनका कारण नै ठमेलले आफ्नोपन पाएको हो। यहाँ ठूलाभन्दा स–साना व्यवसाय बढी फस्टाएका छन्। होटल÷रेस्टुराँसँगै पश्मिना, हस्तकला, सोभेनियर, कफी पसल, मनी एक्सचेन्ज, ट्रेकिङ, टुरलगायत व्यवसाय ठमेलको पहिचान हुन।
तर पछिल्लो समय यसमा चिनियाँको दबदबा बढेको छ। चीनियाँ ब्यापारीका कारण नेपाली ब्यापारी समस्यामा परेका छन्। ठमेलमा केही वर्षयता चिनियाँ व्यापारीहरु बाक्लिएका छन् र यसले नेपाली व्यवसायीको मनोबल खस्किएको छ।
एक दशक अघिसम्म यहाँका सबै व्यवसायका होर्डिङ बोर्डमा नेपाली र अंग्रेजी अक्षर हुन्थे, अहिले चिनियाँ अक्षर पनि थपिएका छन्। यी व्यवसायिक गल्लिहरु अहिले चिनियाँ भाषाका होर्डिङबोर्डले भरिभराउ छन् । ठमेलको त्रिदेवी मार्गदेखिका प्रत्येक घरमा एकदेखि तिनवटासम्म चीनियाँ भाषामा लेखिएका होर्डिङबोर्ड झुण्ड्याइएका भेटिन्छन् ।
यी क्षेत्रहरुमा झुण्ड्याइएका चीनियाँ भाषाका होर्डिङबोर्डले चीनको शहरको झझल्को दिने गरेको छ । कुनै समय नेपालीहरुको व्यवसायिक केन्द्रको रुपमा रहेको ठमेल क्षेत्रबाट अहिले नेपालीहरु नै विस्थापित हुनु पर्ने वाध्यता रहेको स्थानीयहरु बताउँछन् । ज्याठामा एउटा मिनि चाईना नै रहेको स्थानीय ब्यापारीहरु वताउँछन। एउटा कम्प्लेक्सको नाम नै चाइना टाउन राखिएको छ। ठमेलमा चिनियाँ बजारको झल्को दिने उनीहरुको प्रयास जारी छ।
चिनियाँहरु खासगरी रेस्टुराँमा लगानी बढाइरहेका छन् र ती रेस्टुराँ चीनबाटै आउने पर्यटक लक्षित छन्। ज्याठा क्षेत्रमा चिनियाँ लगानी र व्यवस्थापनका रेस्टुराँ धेरै छन्। सातघुम्ती र क्षेत्रपाटीमा पनि चिनियाँ व्यवसायीको वृद्धि देखिन थालेको छ। चिनियाँहरुको चासो हेल्थ क्लिनिकमा पनि थालेको छ। अक्युपन्चर पद्धतिबाट उपचार गरिने यस्ता केन्द्रको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ।
चिनियाँको लागनी यत्तिमा मात्रै सिमित छैन। कार्गो र ट्राभल एजेन्सीमा पनि चीनियाँहरुको वर्चश्व वढेको छ। चिनियाँ लगानीका व्यवसायबारे कुनै निकायसँग आधिकारिक विवरण भने उपलब्ध छैन।
चिनियाँ लगानी बढ्दै गर्दा वर्षौंदेखि जोगाइएको ठमेलको मौलिकता जोखिममा पर्दै गएको छ। यद्यपी यो समस्या नेपालको मात्रै भने होईन। कतिपय देशमा चीनले मिनी चीनको झझल्को दिने गरी ‘चाइना टाउन’ सञ्चालनमा ल्याएको छ । मलेसिया, सिङ्गापुर, थाईल्याण्ड, कुवेत, वहराइनलगायतका देशमा चीनकै झल्को दिने ‘चाइना टाउन’ सञ्चालनमा छन्।
चिनियाँ व्यापारीको दबदबा बढेपछि केन्यामा भने स्थानीय व्यापारीले विरोध प्रदर्शन गरेका छन्। चिनियाँ व्यापारीले सस्तो दरमा सामान बेचेर आफूहरुलाई धराशायी बनाएको विरोधमा स्थानीय व्यापारी सडकमा उत्रिएका हुन्।
केन्यामा चिनियाँ स्वामित्वको चाइना स्क्वायर मल ४० भन्दा बढी व्यापारिक कम्पनीहरू मध्येको एक हो, जुन केन्याको बजारमा कम मूल्यमा आयात गरिएका सामान बेच्ने विदेशी संस्थाहरूको सञ्चालन रोक्न खोज्ने मुद्दामा फसेको छ।
चीनबाट आयात गरिएका दैनिक उपभोग्य वस्तुहरू आफ्ना स्थानीय समकक्षीहरूले ल्याएका सामानको तुलनामा औसत ५० प्रतिशत सस्तोमा चिनियाँहरूले बिक्री गरेको भन्दै केन्याका व्यापारीहरूको समूहले उच्च अदालतमा मुद्दा दायर गरेका छन्।
इन्डिजिनस क्यापिटल प्रोटेक्सन एसोसिएसन नामक समूहको संयोजकत्वमा व्यापारीहरूले केन्यामा चिनियाँ व्यापारीहरूको आगमनको विरोध गर्दै सरकारविरुद्ध मुद्दा दायर गरेका छन्।
केन्यामा पनि कति चिनियाँ व्यापारी छन् भन्ने यकिन तथ्यांक छैन तर हालका वर्षहरूमा त्यहाँ चिनियाँ विरोधी भावना बढ्दै गएको छ।