News राजनीति

प्रचण्ड र माधव नेपाल किन फर्काउन चाहान्छन् ‘नेकपा’ ?

प्रचण्ड र माधव नेपाल किन फर्काउन चाहान्छन् ‘नेकपा’ ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले नेकपा ब्युँताउनुपर्ने बताउँन थालेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले गरेको विचार गोष्टीलाई सम्बोधन गर्दै दाहालले पुनः नेकपातिर फर्कन आह्वान गरेका हुन्। 

उनले भने– ‘आउनुस् बसौं संगै, विना आग्रह र पूर्वाग्रह समीक्षा गरौं। विचारधारात्मक रुपमा समीक्षा गरौं। राष्ट्रको हितमा एकता फेरि एउटा नयाँ पहल सुरु गरौं।’ उनले देशको राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि एक हुन जरूरी रहेको बताए।

कम्युनिस्ट आन्दालनको प्रभाव देशमा व्यापक विस्तारित भएको तर कम्युनिस्ट पार्टीहरु अलग हुँदा जनता र देशले अपेक्षा गरेको परिणाम दिन नसकेको बताउँदै दाहालले एमाले र माओवादीको एकतालाई कार्यकर्ताले मात्र नभई जनताले पनि अनुमोदन गरेको स्मरण गरे।

दाहालले समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गराउने बताएका हुन् । ‘सबै समाजवादी मोर्चामा आबद्ध हौं । त्यसबाट सन्देश दिऔं । भविष्य उज्वल छ हामी फेरि एकता सन्देश दिऔं । विचारधात्मक कामलाई अघि बढाऔं,’ दाहालले भने, ‘छिट्टै समाजवादी मोर्चा घोषणा गरिनेछ । त्यहाँबाट पार्टी एकतको नयाँ ध्रुविकरणतर्फ जानेछौं । नेकपातर्फ फर्किनका लागि सबैलाई अपिल गर्नेछौं । नेकपा एकाध नेताहरुको सनकको कारण दुर्घटना परे पनि लाखौं जनताले अनुमोदन गरेको एकता हो । हामीबाट प्रस्तावित एकता हो । यसमा आग्रह वा पूर्वाग्राहले नहेरौं ।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताए।

विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि उनको भनाइ छ । ‘विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोचहरु, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं,’ उनले थपे, ‘किनभने हाम्रो दिलको धडकन उस्तैउस्तै ढंगले धडकीरहेको छ । कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना पनि रहेको छ । त्यो दिन पनि टाढा छैन ।’

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको बताए । उनले सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन पनि आग्रह गरे ।

विशेष