यस्तो छ रवि लामिछाने विरुद्ध परेको उजुरी, खारेज हुन्छ उम्मेदवारी ?

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा आचारसंहिता उल्लघन गरेको स्विकार गर्दै माफी मागेपछि रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
लामिछानेले आचारसंहिताविपरीत कार्यहरु गरेको भन्दै सोही निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्ना प्रतिनिधि ध्रुवराज पोखरेलमा मार्फत उजुरी दिएका हुन् । उजुरीमा लामिछानेको उम्मेदवारी खारेजीको माग गरिएको छ।
सर्वदलीय बैठकमा उम्मेदवारले दुई वटामात्रै गाडी प्रयोग गर्ने सहमति भए पनि उनले १२÷१४ वटासम्म गाडी प्रयोग गरेको, सडकमा पेन्टिङदेखि मतदानका बेला घन्टी बजाउँदै, नारा लगाउँदै मतदान केन्द्रमा घुम्ने र मतदातालाई प्रभावित पार्ने काम भएको पोखरेलले वताए।
आइतबार मतदान भइरहेका बेला लामिछाने भोजाडको नयाँकिरण माध्यमिक विद्यालय मतदान केन्द्रमा पुग्दा आचारसंहिता उल्लंघन भएको भन्दै विवाद भएपछि दुई घन्टासम्म मतदान स्थगित भएको थियो । सो केन्द्रमा भएको सर्वदलीय बैठकमा रास्वपाका प्रतिनिधिले आचारसंहिता उल्लंघन भएको स्वीकार गरेका थिए । रास्वपालाई कारबाहीका लागि सिफारिस गर्ने सहमतिपछि मात्रै मतदान पुनः सञ्चालन भएको थियो ।