चितवन, बारा र तनहुँमा मतदान सुरु
बारा–२, तनहुँ–१ र चितवन–२ मा आज उपनिर्वाचन हुँदैछ। तिनै स्थानमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो भने चितवन २ का निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा पद मुक्त भएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदैछ।
तीन निर्वाचन क्षेत्रमा आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६५ उम्मेदवार छन्। तनहुँ–१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन्।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार छन्। त्यहाँ नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।
यसैगरी, बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतका उम्मेदवार छन्।