News

दिनदहाडै मारिएकी निराका हत्यारा प्रहरीले अझै फेला पारेन

पसलको काउण्टरमा दिउँसै धानको बोरा छेडे झै छेडेर भाग्दा पनि छिमेकीले कसरी थाहा पाएनन्?

दिनदहाडै मारिएकी निराका हत्यारा प्रहरीले अझै फेला पारेन

बिहीबार काठमाडौं– ६ सरस्वतीनगर स्थित भाँडा पसलमा वसिरहेकी निरा आचार्यको दिउँसै हत्या भयो। धारिलो हतियार प्रहार गरी हत्या गरी बोरामा पोको पारेको अवस्थामा उनको शव फेला पर्यो।

ब्यस्त सहरमा त्यो पनि पसलको काउन्टरमै पटक–पटक धारिलो हतियार प्रहार गरी भएको हत्याको घट्ना छिमेकीले सुईकोसम्म पाएनन्। तर, सजिलै भाग्न सफल भएका हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन्। बाग्लुङ स्थायी घर भएकी निराका ‘निरू किचेन’नामक पसल छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बिहीबार साढे दुईदेखि तीन बजेको बीचमा उनको हत्या भएको थियो । एक ग्राहकले उनलाई पसलमा रगताम्य अवस्थामा देखेपछि मात्र वरिपरिका व्यक्तिले जानकारी पाएका थिए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो ।

जिल्ला प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टिम बनाएर घटनाको अनुसन्धान गरिरहेको छ। तर, आईतवार साँझसम्म हत्यारा पक्राउ परेको समाचार प्रहरीले दिन सकेको छैन। 

यद्यपी, घटनास्थल नजिकैको एक सिसिटिभी फुटेजबाट प्रहरीले हत्यामा संलग्न एक शंकास्पद व्यक्तिको तस्बिर भने फेला पारेको छ। तर, ती व्यक्ति को हुन् ? भन्ने नै प्रहरीले पत्ता लगाएको छैन। जसका कारण हत्यामा ककस्को संलग्नता थियो, हतियार के थियो, हत्याको कारण के थियो ? लगायतका सवै प्रश्न अनुत्तरित छन्।

प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार प्राप्त भएका सूचनाका आधारमा अनुसन्धान भइरहेको छ। प्रहरी छिट्टै घटनाको कारण सार्वजनिक गर्ने तयारीमा रहेको उनले वताए। 

निरा आचार्य सरस्वतीनगर

विशेष