News

रास्वपा र रवि लामिछानेलाई सामाजिक सञ्जाल दुरूपयोगको चिन्ता!

रास्वपा र रवि लामिछानेलाई सामाजिक सञ्जाल दुरूपयोगको चिन्ता!

सभापति रवि लामिछानेको विपक्षमा समाचार, कमेन्ट वा विचार आए ‘आमाचकारी’ गाली गर्ने कार्यकर्ता र समर्थक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल दुरुपयोग भएकोमा चिन्ता ब्यक्त गरेको छ।

आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा चिन्ता ब्यक्त गर्दै पार्टीले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ। रास्वपाले आज बिहान पार्टीको फेसबुक पेजमार्फत भनेको छ–‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजग रहन अनुरोध गर्दछौं।’

सामाजिक सञ्जाल दुरूपयोग गरी भइरहेका अफवाह फैलाउने र झुटको खेती गर्नेहरूको निगरानी र कानूनबमोजिम कारबाही गर्न रास्वपाले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ।

‘स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धामार्फत जनमत हासिल गरी देशको सेवामा समर्पित होऔं। यस्तो गलत अभ्यासले आजका नेपाली भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ,’ रास्वपाले भनेको छ। 

त्यस लगत्तै अध्यक्ष रवि लामिछानेले भिडिओ सन्देश जारी गरेर पनि आयोग र सरकारको ध्यानाकर्षण गराएका छन्।

विशेष