News विदेश

नेपालमा रहेको आशंका गरिएका अमृतपाल सिंह भारतमै पक्राउ

नेपालमा रहेको आशंका गरिएका अमृतपाल सिंह भारतमै पक्राउ

नेपालमा रहेको आशंका गरिएका खलिस्तान समर्थक अमृतपाल सिंह भारतमै पक्राउ परेका छन् । स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका पन्जाबका सिंह मोगाबाट पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका थिए। उनी त्यो संगठनका प्रमुख हुन। अमृतपाल नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो ।

तर पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए ।

पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए । उनका बुवा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 
 

अमृतपाल सिंह

विशेष