News

रविलाई कारवाही नगरी चितवनको मतगणना गर्न कांग्रेसले दिएन

रविलाई कारवाही नगरी चितवनको मतगणना गर्न कांग्रेसले दिएन

उपनिर्वाचन अन्तर्गत तीन स्थानमा भएको मतदान मध्ये तनहुँको मतगणना सुरु भएपनि चितवन र बाराको मतगणना सुरु हुन सेकेको छैन।

चितवनमा रास्वपाका उम्मेदवार रवि लामिछाने विरुद्ध परेको उजुरीका विषयमा छिनोफानो नभएसम्म नभएसम्म मतगणना गर्न नदिने कांग्रेसले अडान लिएको छ। कांग्रेसले लामिछाने र चितवनका सिडिओ सुरेन्द्र पौडेलबारे उजुरी दिएको छ।

मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र सिडिओ पौडेलले सहयोग गरेको भन्दै कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । लामिछानेले आचारसंहिता विपरीत १२ बटा गाडी प्रयोग गरेको, मतदान केन्द्रमा नारावाजी गरेको र त्यसलाई सिडिओले सहयोग गरेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

उजुरीमा छानबिन गरी कारवाही गर्न आग्रह गरिएकाले त्यो नभएसम्म मतगणना नगरिने उनको भनाई छ। कांग्रेसले उजुरीका सम्वन्धमा पहिला निर्णय लिन अन्यथा गणनाको काम अगाडि बढ्न नसक्ने जानकारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।

यसैगरी बारामा आज बिहानदेखि मात्र गणना सुरु हुने भएको छ । हावाहुरी चलेका कारण दलका प्रतिनिधिहरू नआएकाले आइतबार राति सर्वदलिय बैठक बस्न नसकेकाले गणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले वताए।

सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सदरमुकार कलैयास्थित शैक्षिक तालिम केन्द्रमा राखिएको छ । मतपेटिकाको सुरक्षा नेपाली सेनासहितका सुरक्षाकर्मीले गरिरहेका छन्।
 

विशेष