News

संघीय सत्तासँग बालेन्द्रले घुँडा टेकेः सिंहदरबारको फोहोर उठ्यो

संघीय सत्तासँग बालेन्द्रले घुँडा टेकेः सिंहदरबारको फोहोर उठ्यो

संघीय सत्तासँग पैठेजोरी खेलेरै अगाडि वढ्ने योजनामा रहेका काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले घुँडा टेकेछन्। आफुलाई सहयोग नगरेको झोंकमा आफ्नो दायित्वबाटै पन्छिन खोजेपछि मेयर साहले घुँडा टेक्नु परेको हो।

मेयर साहले १५ दिनअघि सिंहदरबारको फोहोर नउठाउने अडान लिएका थिए। तर, सर्वोच्च अदालतले ३ दिनभित्र फोहोर उठाउन आदेश दिएपछि उनी आफनो अडानबाट पछि हटेका छन्। सोमवार महानगरले सिंहदरबारको फोहोर उठाएको छ। सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएको थियो।

मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन । महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए ।

मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न आदेश जारी गरेको थियो ।


सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेन्द्रले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताए ।

सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन महानगरपालिकालाई आदेश दिएपछि आदेशको पालना गर्ने भन्दै मेयर साहले सर्वोच्चको आदेश अन्य निकायले पनि पालान गर्नुपर्ने बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन्– ‘अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौं महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ।’ 


 

विशेष