News

रवि लामिछानेलाई समर्थक नै घाँडो, हात जोडेर विन्ति गर्दा पनि टेर्दैनन्

रवि लामिछानेलाई समर्थक नै घाँडो, हात जोडेर विन्ति गर्दा पनि टेर्दैनन्

चितवन क्षेत्र नं. २ मा आईतवार भएको उपचुनावमा रास्वपाका सभापति रवि लामिछानेले भोट हाल्न पाएनन्। उनको मतदाता परिचय पत्र काठमाण्डौंमा भएका कारण उनी विहानैदेखि मतदानस्थलको अनुगमनमा निस्किए।

मतदान स्थल अनुगमनकै क्रममा लामिछाने नयाँ किरण मावि भोजाड केन्द्रमा पुग्दा समर्थकले नारावाजी गरे। मतदान केन्द्रभित्र रविको जयजयकार सुरु भएपछि सत्ता गठवन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताले प्रतिकार गरे।

आचारसंहिता विपरित गरिएको नाराजुलुसका कारण स्थिती हात हालाहालको अवस्थामा पुग्यो। रास्वपाका महासचिव मुलुल ढकाललाई भिडमा हातपात समेत भयो। त्यसपछि रोकिएको मतदान रास्वपाले माफी मागेपछि मात्रै सुरु भयो।

यतिमात्रै होईन, रविका समर्थकले मतगणनास्थलमा पनि चर्को नाराबाजी गरेका छन्। जसका कारण लामिछाने नै समस्यामा पर्दै गएका छन्। लामिछाने आफै बाहिर निस्केर आग्रह गर्दा पनि भिडले सुनुवाई गरेन। ‘दिउसकै घटनाले समस्या परेकाले आफूलाई माया गर्ने भए नाराबाजी नगर्न’ भन्दै उनले आग्रह गर्दा पनि जयजयकार चलिरह्यो।

भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा मतगणना स्थलमा यसरी नाराबाजी गरेपछि अन्य दलका प्रतिनिधिले आपत्ति जनाएका थिए। यसरी समर्थककै कारण पार्टी खोलेको ६ महिना नपुग्दै प्रतिनिधि सभाको चौथो ठुलो दल भएको रास्वपा र गृहमन्त्री समेत भएका लामिछानेका लागि तिनै समर्थक घाँडो हुन थालेका छन्।

उनका उग्रसमर्थक उनकै नियन्त्रणमा नरहेको प्रष्ट देखिन थालेको छ। यस्तै अवस्था रहे भविष्यमा रविलाई अझ अठ्यारो अवस्थाहरु आउँन सक्ने जानकारहरु वताउँछन्।

रवि लामिछाने

विशेष