News

तनहुँ १ः गोविन्दराजको वडामा स्वर्णिमलाई ६० प्रतिशत मत, कांग्रेसलाई गठबन्धनबाटै धोका

तनहुँ १ः गोविन्दराजको वडामा स्वर्णिमलाई ६० प्रतिशत मत, कांग्रेसलाई गठबन्धनबाटै धोका

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता लिएका छन्। अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ। 

४२ वटा वडामा खसेको ६३७५७ मध्ये १८६६१ मत गणना हुँदा मत वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २७९७ मत ल्याएका छन्।

गएराति पौने १२ बजेबाट सुरू भएको गणनामा भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको गणना सकिएको छ। सुरुदेखि नै लिड गरिरहेका डा. वाग्लेले क्रमिक रुपमा अगाडि वढिरहेका छन्।

कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको वार्ड भानु–११ मा झनै रोचक नतिजा देखिएको छ । उक्त वडामा २०१४ मतमध्ये रास्वपाका वाग्लेले झण्डै ६० प्रतिशत मत पाएका छन् । यहाँ स्वर्णिमले १२०२ मत ल्याउँदा गोविन्दले ५९३ र सर्वेन्द्रले १८३ मत पाए ।

उपचुनावलाई मध्यनजर गर्दै कांग्रेसले कारबाहीको फुकुवाको निर्णय गरेपनि जोशी समूहले त्यसलाई अस्वीकार गरेको थियो । यो क्षेत्रमा कांग्रेस र माओवादीको मत बलियो मानिन्छ। गएको स्थानिय निर्वाचनमा आँबुखैरेनी गाउँपालिका माओवादीले जितेको हो। यहाँ माओवादी गण्डकीका संसदीय दलका नेता हरि बहादुर चुमानको छोरा गाउँपालिका प्रमुख छन्।

चुमानले यहिँको मत देखाएर गण्डकीको मुख्यमन्त्री दावी गर्दै आएका थिए। तर,यहाँको गठबन्धनकै मत स्वर्णिम वाग्लेलाई गएको देखिन्छ। भानु नपामा कांग्रेसको मत बलियो छ। त्यसपछी एमाले र माओवादीको मत छ। यहाँ एकीकृत समाजवादीको मत पनि राम्रै थियो। तर,यहाँबाट पनि वाग्लेले गठबन्धनको मत तानेका छन्।

तनहुँ क्षेत्र नं. १ मा बजार क्षेत्र र देवघाट गाउँपालिकाको मत निर्णायक हुनसक्ने जानकारहरु बताउँछन्।

विशेष