नेवानीका पाईलटलाई पखाला चलेपछि उडान रद्द, विमानस्थलमै नारावाजी

को–पाईलटलाई पखाला चलेपछि जगेडा को–पाईलटको ब्यवस्था गर्न नसक्दा शनिबार राति नेपाल वायु सेवा निगमको काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द भएको छ। उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् ।
राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ को उडान अन्तिम समयमा रद्द भएको थियो। त्यसपछि बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ ।
निगमले उडान रद्द गरेपछि यात्रुहरुले नाराबाजीसमेत गरेका छन्। दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए२३०) उडान पनि रद्द भएको छ । त्यहाँका यात्रुलाई पनि होटलमा राखिएको छ।
शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को–पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को–पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।
विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेका थिए । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिए।