के डुब्ने नै भयो शिवशिखर र तुलसी सहकारीका बचतकर्ताको पैसा? यस्तो छ नालिबेली
भारतबाट बोरामा पैसा ल्याउने भन्दै भ्रम छर्दैछन् फरार अध्यक्ष

१ सय ४५ करोड निक्षेप हिनामिना गरेको आरोपपछि विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा फरार छन्। उपाध्यक्ष अनिता गौतम, सचिव तथा शर्माकी कान्छी श्रीमती सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई भने प्रहरीले पक्राउ गर्यो।
प्रहरीले फरार रहेका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाए ठगी मुद्दा चलायो। पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भए। सञ्चालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा भने फरारकै सूचिमा छन्।
स्रोतका अनुसार तुलसी सहकारी डुबाउन अध्यक्ष शर्मा र कान्छि श्रीमती सविनाको हात छ। उनीहरुले सूनियोजित रुपमा वचतकर्ताको निक्षेप अपचलन गरेको वताईन्छ। पहिलो पति गणेश घिमिरेसँग सम्बन्ध बिच्छेद गरेर शर्मासँग निकट भएकी सविनाले सविनाले तुलसी सहकारीबाट करोडौं रुपैयाँ आफ्ना भाइ सागर न्यौपानेलाई हस्तान्तरण गरेर बिर्तामोडमा एसमार्टसमेत खोलेकी थिइन् । उनले लगेको पैसा कुन बाटोबाट गयो भन्ने खुलेको छैन। यसैगरी, छोरा आरभ घिमिरेलाई क्यानडा अध्ययनका लागि पठाउन समेत सहकारीको रकम दुरुपयोग गरेको कर्मचारीहरु नै वताउँछन्।
स्रोतका अनुसार सहकारीमा सविना आफै अफिसमा बसेर काम गर्थिन् । माइन्यूटमा पनि आफै हस्ताक्षर गर्थिन् । अडिट पनि उनैले गराउँथिन् । चेकमा हस्ताक्षर पनि उनले नै गर्थिन् । कर्मचारीहरूले पैसा नभएको जानकारी दिँदा ‘तिमीहरूको काम व्यवस्थापन हेर्ने हो, पैसा जुटाउने सञ्चालकको काम हो, हामी जुटाउँछौँ’ भन्थिन् । ७ जना सञ्चालक समिति सदस्यमध्ये ५ जना ‘डमी’ जस्तै थिए।
यसैगरी, अध्यक्ष शर्माले पनि सहकारीको पैसा मन लाग्दी खर्च गर्ने गरेको प्रहरीले नै पुष्टि गरेको छ। जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्ने क्रममा प्रहरी प्रस्तुत गरेको अभियोग पत्रमा अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामै नचढाई हिनामिना गरेको उल्लेख छ।
विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको यो सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू अहिले बन्द छन् । सहकारीका सञ्चालकहरुले ३ हजार ६३ जना सर्वसाधारणको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीका चार वटा शाखा छन । विराटनगरमा मात्रै १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।
झापा, सिरहा र गाइघाट शाखा अन्तर्गतका बचतकर्ताको हिसाव जोड्दा उनीहरुको वदमासी अझै वाहिर आउने वताईन्छ।
भक्तपुरको मध्यपुरठिमी स्थित शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको अवस्था पनि उस्तै छ। यो सहकारी डुवाउन माउ संस्था शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष समेत रहेका केदारनाथ, उनकी जेठी श्रीमती गीता र छोरा काल्र्सको भुमिका छ। केदारनाथसहित श्रीमती गीता शिखर अर्गनाईजेसनका उपाध्यक्ष समेत रहेका छोरा काल्र्स पनि अहिले फरार छन्।
सुरुमा केदारनाथ आफु मात्रै फरार थिए। उनी अहिले नेपालगञ्जको आसपास पर्ने भारतीय क्षेत्रमा लुकेर वसेको बताईन्छ। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सिईओ लिलानाथ गौतमका छोराले आफना वुवा र आमा अनिता गौतम (तुलसी सहकारी संस्थाकी उपाध्यक्ष÷हाल थुनामा) लाई फसाएको भन्दै शर्माको सुकेधारा स्थित घरमै गएर तथानाम गरेपछि दुवै आमाछोरा घर छोडेर भागेको वताईन्छ।
यतिमात्रै होईन, अध्यक्ष शर्माले सविनासहित पुरै परिवार मिलेर इन्टर कम्पनी लगानी गरेर दुवै सहकारीको दोहन गरेको वताईन्छ। स्रोतका अनुसार सहकारीले अवैध तरिकाले नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, तुलसी राईस मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रसहित माउ संस्था शिखर अर्गनाइजेसन मार्फत विभिन्न ३२ वटा कम्पनी खडा गरेर ठुलो रकम लगानी गरिएको छ। संस्थाको लेखा परीक्षण रिपोर्टमा भने ४० लाख मात्रै लगानी देखाइएको छ ।
केदारनाथ शर्माको एकल लगानीमा रहेका ति कम्पनीले सहकारीको लगानी फिर्ता गर्न सक्ने अवस्था छैन। यति मात्रै होईन, शर्माले सहकारीको केही पैसा हुण्डी मार्फत विदेश पठाएको पनि आशंका छ।
सहकारी टाट पल्टेपछि शिबसिखर र तुलसी सहकारीको लगानी रहेको बालाजुको गार्डेन मार्ट नेपाल इन्भेस्टमेन्ट वैंकले सिल गरेको छ। मार्ट संचालनमा रहेको घर जग्गा बैंकमा धितो राखेर ऋण निकालेकाले वैंकले सिल गरेको जनाईएको छ। जसमा शिखर अर्गनाईजेशनका उपाध्याक्ष एवम् केदारनाथका छोरा काल्र्सले पर्सनल ग्यारेन्टी दिएको पाईएको छ।
यसरी हरेक क्षेत्रमा समस्या देखिएपछि दुवै सहकारीमा रहेको वचतकर्ताको निक्षेप फिर्ता हुने सम्भावना देखिएको छैन। अधिकांश रकम फजुल खर्च भईसको छ र केही पैसा हुण्डि मार्फत विदेश लगिसेकाले वचतकर्ताको रकम पूर्ण जोखिममा छ। केदारनाथका ३२ मध्ये अधिकांश कम्पनी पछि घाटामा छन्, चल सम्पत्ति देखिएको छैन। भएको अचल सम्पत्ति पनि बैंकले रोक्का राखेर लिलाम गर्ने अवस्थामा रहेकाले पैसा डुब्ने डरले बचतकर्ताहरु त्राहिमाम भएका छन् ।
भारतीय लगानी भित्र्याउने भ्रामक हल्ला
बचतकर्ताले निक्षेप फिर्ताका लागि दबाव दिन थालेपछि पछिल्लो समय अध्यक्ष शर्माले भारतीय लगानी भित्र्याउन लागेको भ्रामक हल्ला चलाएका छन्। शिखर अर्गनाईजेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेका मिडिया मार्फत ४१ सय ६० करोड रकम भित्र्याउन लागेको प्रचार गरिएको छ।
ति मिडियाका अनुसार शिवशिखर अर्गनाईजेशन र भारतीय कम्पनी काशी विश्वेश्वरा मिनरलबीच ४१ सय ६० करोड लगानी गर्ने सम्झौता भएको छ। जसमा शिखर अर्गनाईजेसनमा १६ सय करोड (नेरु २५ सय ६० करोड) र भक्तपुर स्थित शिवशिखर वहुउद्देश्यीय सकारी संस्था र विराटनर स्थित तुलसी वहुमुखी सहकारी संस्थामा छुट्टै १ हजार करोड (नेरु १६ सय करोड) लगानी गर्ने उल्लेख छ।
तर, उनको यो प्रचार पत्याउन सक्ने अवस्था भने देखिएको छैन। टाट पल्टेको कम्पनीमा लगानी गर्ने कुरा आफैमा आश्चर्यजनक र पत्याउनै नसक्ने भएको जानकारहरु वताउँछन्। उनीहरु भन्छन्–‘केएनले (केदारनाथ शर्मा) उडाएको पैसा भारतीय कम्पनीले तिरिदिन्छ भनेर कसरी विश्वास गर्ने?’
तुलसी सहकारी शिवशिखर सहकारी केदारनाथ शर्मा