News

रवि लामिछानेको प्रश्नः जुनसुकै भ्रष्टाचारको छानबिन हुने विषय कसलाई बचाउन हटाईयो ?

रवि लामिछानेको प्रश्नः जुनसुकै भ्रष्टाचारको छानबिन हुने विषय कसलाई बचाउन हटाईयो ?

चितवन–२ मा उपनिर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यूनतम साझा कार्यक्रमा रहेको ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरिने भन्ने विषय – कसलाई बचाउन निकालिएको हो ?’ भन्दै प्रश्न गरेका छन्।

मंसिर ४ गते आफैले बनाएको रेकर्ड ब्रेक गरेर अत्याधिक मतान्तरसहित विजयी भएका लामिछानेले मतगणना सकिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै यस्तो प्रश्न तेस्र्याएका हुन। 

राष्ट्रिय स्वतन्त्र पार्टी सरकार र गठबन्धनमा सहभागी हुँदा बनाइएको न्यूनतम साझा कार्यक्रमबाट आफूहरूले त्यतिखेर राखेका विषय निकालिएको बारे उनले असन्तुष्टि प्रकट गरेका छन्।

‘न्यूनतम साझा कार्यक्रममा रहेको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरिने भन्ने विषय – कसलाई बचाउन हो – निकालिएको छ’–उनले भने। 

लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत पनि गरेका छन्। सरकारको स्थिरका लागि समर्थन कायम राखेको राजनकारी दिएका उनले स्थिरताका नाममा जे पनि गर्नुलाई नोटिसमा राखेको उनको भनाई छ।

‘सरकारलाई दिएको समर्थनको निरन्तरताको औचित्य देखिएको छैन। त्यस कारण काठमाण्डौं फर्किसकेपछि हामी छलफल गर्छौँ’ उनले भने–‘स्थिरता नै रहोस् भनेर समर्थन गरिदिएका हौँ। तर स्थिरताकै नाममा जे पनि गर्नुलाई नोटिसमा लिएका छौँ।’

अब अर्को सरकार बन्छ त? भन्ने प्रश्नमा उनले ‘हामी नयाँ बनाउने खेलमा छैनौँ। स्थिरता नै होस् भन्ने चाहन्छौँ’ भन्दै जवाफ दिए।

लामिछाने ५ महिनाको अवधिमा दोस्रो पटक चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन। नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। मङ्सिर ४ गते भएको निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर विजयी भएका उनी यस पटक ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन।

उनले नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३ हजार बढी मत ल्याएका छन्। चितवन–२ मा मङ्सिरमा भन्दा केही कम प्रतिशत (कुल ७८ हजार २७७ मत) खसेको थियो। तर कांग्रेस र एमालेका उम्मेदवारहरूले मत यसअघिको भन्दा घटेको छ। अघिल्लो निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारहरू प्रत्येकले १४ हजार मत कटाएका थिए।
    त्यतिबेला लामिछाने ३५ मतको अन्तरले विजयी भएका थिए।
बीबीसीको सहयोगमा

विशेष