News

रविको साथ र रास्वपाको लोगो पाउँदा पनि रमेश खरेलको जमानत जफत

रविको साथ र रास्वपाको लोगो पाउँदा पनि रमेश खरेलको जमानत जफत

देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलिरहेका बेला पनि बारा–२ मा उक्त पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ। उनीसहित ३१ उम्मेदवारले जमानत जोगाउन सकेनन्।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ।

बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार  ४१५ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले  १० हजार  २१६ मत ल्याए।   

बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। उनले पाएको मत ४ दशमलव १४ प्रतिशत हो।

यहाँ प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवालीले समेत २ हजार ७३८ मतमात्रै पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादवको पनि जमानत जफत भएको छ।

त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ। 

रवि लामिछाने रास्वपा रमेश खरेल

विशेष