News

पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको चेतावनीः छोरीवुहारी अगाडि सारेर फुरफुर नगर

पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको चेतावनीः छोरीवुहारी अगाडि सारेर फुरफुर नगर

पूर्वयुवराज्ञी हिमानी शाहको फेक ट्वीटर एकाउण्टबाट एमाले अध्यक्ष केपी शर्मा ओली माथि ढुङ्गामुढा भएको ट्वीट भएपछि त्यसको आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहले खेप्नु परेको छ।

अध्यक्ष ओलीले सोही ट्वीटलाई लक्षित गरी पूर्व राजा शाहलाई धेरै फुरफुर नगर्ने चेतावनी दिएका छन्। झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले ‘जनताले ढुंगा हानेछन्’ भनेर ट्वीट गरेको उनको दाबी छ ।

इलाममा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र शाह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’

जबकी यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो । तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए । उनले एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ‘हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर’ भन्दै चेतावनी दिएका छन्।

एमालेले कारबाही गरेका दुर्गा प्रसाईंतर्फ संकेत गर्दै ओलीले ट्याउट्याउ गर्दै कुद्ने एकदुई जना मान्छे भेटाएको भरमा पखेटा पलाउनु ठीक नहुने चेतावनी दिए। प्रसाईले फागुन २० गतेदेखि राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाभियानमा सकृय छन्। उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहा गरिनुपर्ने र पूर्वराजा ज्ञानेन्द्रलाई गद्दी सुम्पिइनुपर्ने माग राखेका छन्।

बुधवार झापा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहले ढुङ्गामुढा गरेको थियो।

बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि उनीहरुले ढुंगामुढा गरेका थिए।

विशेष