News खेल

कतारलाई पराजित गर्दै नेपाल बन्यो समूह विजेता

कतारलाई पराजित गर्दै नेपाल बन्यो समूह विजेता

नेपालले एसीसी मेन्स प्रिमियर कपमा कतारविरुद्ध जित हात पारेको छ। पहिले ब्याटिङ गरेको नेपालले फितलो ब्याटिङ गर्दै १५८ रनको लक्ष्य दिएको थियो। 

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रन बनाएर अल आउट भएको छ। कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । 

योसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो। समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो।

अब नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ। समूह ‘बी’ को खेलमा हङकङ र कुवेतबीच खेल जारी छ। सो खेलमा हङकङ विजयी भएमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ। कुवेत विजयी भएमा भने कुवेतसँग खेल्ने सम्भावना छ।

बिहीबार नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो। नेपालको जितमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे। बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे।

सन्दीपले ९.१ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए।

ब्याटिङमा कतारका जाहिर इब्राहिम र खुराम शाहजादले १५–१५ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीपले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे। नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के। ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट हुँदा नेपाल दबाबमा प¥यो। त्यसपछि कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे। 

कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ११ रनमा आउट भए। उनी आउट हुँदा नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो।

सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको स्थिति थियो। चार बलपछि दीपेन्द्रसिंह ऐरी आउट भए। ऐरीले १२ रन मात्र जोड्न सके। २८औं ओभरमा गुल्शन झालाई ७ रनमा कतारका मुनवीराले बाउन्ड्रीमा उष्कृष्ट क्याच गर्दै पेभेलियनको बाटो देखाए।

ललितनारायण राजवंशी १ रनमा एलबिडब्लू आउट भए। सन्दीप र ललितबीच अन्तिम विकेटका लागि ४६ रनको साझेदारी भएको थियो। २८ ओभरमा नवौं विकेट गुमाएपछि ललित अन्तिम विकेटको रुपमा ४०.३ ओभरमा आउट भए।

बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे। 

विशेष