फरार सांसद कोईरी भारतमा पक्राउ परेको रवि लामिछानेको खुलासा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सभापति रवि लामिछानले विरामी भनिएका एमाले सांसद लक्ष्मी महतो कोईरी भारतमा पक्राउ परेको खुलासा गरेका छन्।
शुक्रवार संसदको सपथ ग्रहणपछि पहिलो पटक प्रतिनिधि सभामा वोल्दै उनले यस्तो खुलासा गरेका हुन। उनले संसद कोईरी भारतमा पक्राउ परेको तस्विर आफुसँग रहेको बताए।
‘यो मेरो लागि पेचिलो विषय हो। मैले आलोचना खेपेको छु,’ उनले भने, ‘उहाँ बिरामी हैन, फरार अभियुक्त हो। उहाँ फरार रहँदा उहाँको सालोले भगाएको र त्यहाँको प्रहरीले नियन्त्रण लिएको तस्बिरसहित मसँग छ।’
सांसद कोइरी फरार अभियुक्त भएकाले बिरामीको सूचीबाट तत्काल हटाउन विशेष निर्देशनको माग पनि उनले गरेका छन्। १० दिनभन्दा धेरै बिरामी भई अनुपस्थित भएको सांसदको सूचीमा कोइरीको नाम पनि देखेपछि लामिछानले विशेष समय लिएर यस्तो माग गरेका हुन्।
फरार सांसदलाई बिरामी भन्ने हो भने राजनीतिका नाममा लाजनीति नहोस् भन्दै उनले बिरामीप्रति सद्भाव छ तर फरार अभियुक्तमाथि हाम्रो कामना नहोस् भन्ने टिप्पणी गरे। ‘सभामुखबाट विशेष रुलिङ होस्। फरार अभियुक्तलाई बिरामीको संज्ञा दिएर भद्दा मजाक नगरौं। यसलाई रोकियोस्। यसलाई रेकर्डमा राखियोस।’
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोइरीको अनुपस्थितिलाई बिरामी बिदाको सूचीमा राखेपछि अन्य सांसदहरूले पनि विरोध गरेका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलगायतले पनि आपत्ति जनाए ।
गत मंसिर ४ गतेको निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक बसेको थियो । शुक्रबारको समेत गरी प्रतिनिधिसभाका २८ बैठक बसेका छन् । तर फरार सांसद कोइरी २१ पटक मात्र संसद्मा अनुपस्थित भएको जनाइएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठक र प्रधानमन्त्रीले विश्वासको मत लिएको बैठकमा सहभागी भएका एमाले सांसद कोइरी त्यसपछि सभामुखको निर्वाचनको समयमा प्रतिनिधि सभामा पुगेका थिए। बैठकमा पुगेपछि नेपाली कांग्रेसले गम्भीर रुपमा प्रश्न उठाएपछि उनी त्यहाँबाट निस्केर हिँडेका थिए। तर प्रहरीले उनलाई हालसम्म फेला पार्न सकेको छैन।
महोत्तरी– १ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै चुनाव जितेका कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका नेपाल प्रहरीका सई थामन विश्वकर्मालाई थुतेर हत्या गरेको आरोप छ। उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ।
अहिले उनी कहाँ छन् भन्ने विषयमा गृह मन्त्रालय पनि अनभिज्ञ छ। उच्च स्रोतका अनुसार संसद भवनबाट निस्केका कोहरीले नेपाल छोडिसकेका छन्। हाल उनी भारत, उत्तर प्रदेशमा रहेको बुझिएको छ।
रवि लामिछाने