रौतहटमा मेयरको सट्टामा एसईई दिंदै गरेका इन्जिनियर ज्वाई पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका उनका ज्वाई पक्राउ परेका छन्।
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविबाट परिक्षा दिईरहेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।
नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका उनलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।
परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।