अनेरास्ववियुले शिक्षा शाखामा लगाएको ताला बालेन्द्रले फुटाए

नेकपा बहुमतको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले शिक्षा शाखामा लगाएको ताला मेयर बालेन्द्र साहले फुटाएका छन्।
काठमाडौँ महानगरपालिका अन्तर्गतको शिक्षा शाखामा विहिवार उक्त संगठनले तालावन्दी गरेको थियो। महानगरपालिकाले बिहीबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र तिनका भ्रातृ संगठनले राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो।
त्यसको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा बिहीबार दिउँसो ताला लगाइदिएको थियो। तर त्यो ताला फोडिएको मेयर साहले जानकारी दिएका छन्। ताला बिहीबार राति तोडिएको बताइएको छ।
‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो’ ताला फोडिएको जानकारी दिदै उनले ट्वीटरमा लेखेका छन्,–‘यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेका छौँ।’