News

एमालेका फरार सांसद कोईरी उद्योग तथा वाणिज्य समितिमा सिफारिस

एमालेका फरार सांसद कोईरी उद्योग तथा वाणिज्य समितिमा सिफारिस

हत्या आरोपमा फरारको सूचिमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई नेकपा एमालेले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको छ।

कोइरीसमेत रहेको उक्त समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ।

गत मंसिर ४ को चुनावमा नेकपा एमालेबाट महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि ०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल जाँदै गरेका नेपाल प्रहरीका सई थमन थापालाई एम्बुलेन्सबाट जबर्जस्ती निकालेर हत्या गरेको आरोप छ।

कोइरीलाई जनकपुर उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको थियो। तर, उनी राजनीतिक संरक्षणमा छन्। प्रतिनिधिसभा सुरु भएसँगै सांसद कोइरीलाई पक्राउ गर्नुपर्ने आवाज सदनमा उठेपछि उनी संसद गएका छैनन्।

सभामुख देवराज घिमिरेले उनलाई निलम्बन पनि गरेका छैनन। ‘सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे’ बर्खास्त हुने संवैधानिक व्यवस्थाअनुरूप पनि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छैन ।

कोइरी प्रतिनिधिसभाका २५ बैठकमा अनुपस्थित छन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन गत पुस २६ मा हाजिरी जनाएयता उनी संसद्मा देखिएका छैनन । 

अदालतको आदेशअनुसार सांसद कोइरी पुर्पक्षका लागि कारागारमा हुनुपर्ने हो तर उनी फरार छन । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा भनिएको छ, ‘अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।’

मधेश आन्दोलनका बेला कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी छुटेका थिए । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि कोइरी कानुनको नजरमा फरार हुन । फरार रहेकै अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति लक्ष्मी महतो कोइरी

विशेष