News

गौशाला भत्काउन खोजेपछि अभियानको आरोपः जनप्रतिनिधि स्वार्थ समुहको गुलामीमा लागे 

गौशाला भत्काउन खोजेपछि अभियानको आरोपः जनप्रतिनिधि स्वार्थ समुहको गुलामीमा लागे 

राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना भत्काउन लागेको भन्दै त्यसको विरोध गरेको छ।

अभियानका अध्यक्ष विनय यादवले शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै गौशालाको संरचना भत्काउने निर्णयवाट पछि नहटे त्यसवाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वयम उपमहानगर हुने चेतावनी दिएका छन् ।

अतिक्रमणको वहानामा वर्षौदेखि सञ्चालनमा रहेको हिन्दु धर्मावलम्विहरुको धरोहर (गौशाला) भत्काउन खोज्नुले जनप्रतिनिधिमा धार्मिक असहिष्णुता देखिएको विज्ञप्तिमा उल्लेख छ।

‘उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि गौशालाका संरचनामा डोजर लगाउने जानकारी गराएपछि वीरगञ्ज जीतपुर गौशाला नामक संस्थाले घरटहरा भत्काउने कार्यमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको पाईएको छ’ विज्ञप्तिमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच छलफल गराई आवश्यक कार्य गर्ने भनि उपमहानगरपालिकालाई पत्राचार गरेपछि नगर प्रमुख राजन पौडेलले उल्टै जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारलाई स्विकार नगरेको र भूमाफियाको समर्थन गरेको भन्दै धम्कीपूर्ण विज्ञप्ति जारी गरेका छन्।’

वीरगञ्ज जीतपुर गौशाला नामक संस्थाले २०२२ सालभन्दा अगाडीदेखि सञ्चालन गरेको गौशाला हटाउन सुनियोजित रुपमा स्वामित्वको विवाद झिकिएको र नेपाललाई धर्मका नाममा विभिजित गरी स्वार्थपूर्ति गर्न खोज्ने गिरोहको इसारामा जनप्रतिनिधिहरु फसेको विभिन्न घट्ना क्रमले पुष्टि गरेको पनि विज्ञप्तिमा जनाईएको छ।

‘गौशाला हटाएर स्वार्थ समुहको गुलामी गर्ने भन्दा पनि विकल्पहरु खोजेर हिन्दुहरुको आस्थासँग जोडिएको गौशालाको ब्यवस्थापनका लागि हामी जोडदार माग गर्दछौं’ विज्ञप्तिमा अगाडि भनिएको छ–‘यस विपरित जवरजस्ती गौशाला हटाउने दुस्प्रयास भए त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित निकाय नै हुने जानकारी गराउँदछौं।’

विशेष