लडाकुलाई पैसा बाँड्ने निर्णयको विरोध गर्दै प्रचण्डको पुतला दहन

अयोग्य लडाकुलाई २ लाखका दरले पैसा बाँड्ने निर्णय गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुतला दहन गरेको छ।
शनिबार अपराह्न काठमाडौँको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता तथा कार्यकर्ताहरूले पैसा बाँड्ने कार्यविधि तत्काल खारेज गर्न माग गर्दै दाहालको पुतला जलाएका हुन्।
लडाकुको नाममा अर्बौ रकम घोटाला गर्न खोजेको भन्दै उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरे। अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गरी ल्याइएको उक्त कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलन गरी सरकारलाई घुँडा टेकाउन बाध्य पार्ने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए।
राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरूप २ लाख रुपैयाँका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो।