News खेल

एसीसी प्रिमियर कपः ११ वर्षपछि नेपाल र कुवेत आमने–सामने, को पुग्ला फाईनलमा

एसीसी प्रिमियर कपः ११ वर्षपछि नेपाल र कुवेत आमने–सामने, को पुग्ला फाईनलमा

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । सन २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा गरेका नेपाल र कुवेत त्यसको ११ वर्षपछि आमने सामने हुन लागेका हुन।

समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको नेपालका लागि कुवेत बलियो प्रतिद्वन्द्वी त होइन। तर समूहको अन्तिम खेलमा कतारसँग खराब ब्याटिङ गरेको नेपालका लागि कुवेतलाई पराजित गर्नु चुनौतीपूर्ण हुनेछ। 

नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली हो।  पछिल्ला नौ खेलमा नौ खेल नै नेपालले जितेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम ६ खेल जितेको नेपालले एसिसी प्रिमियर कपमा मलेसिया, ओमान र कतारलाई पराजित गरेको थियो। साउदी अरेबियाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। 

पछिल्ला ९ खेल मध्ये नेपालका सात खेल एकदिवसीय मान्यता प्राप्त थिए। नेपाली सिनियर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो।

युएईमा भएको समूह चरणको उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २८० रन जोडेको थियो। नेपालका लागि तत्कालिन कप्तान पारस खड्काले शतक प्रहार गर्ने क्रममा १०६ रन जोडेका थिए।

पारसको त्यो पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा पूरा भएको थियो। खेलमा ज्ञानेन्द्र मल्लले ५३ रन जोडेका थिए। सो खेल खेलेका ज्ञानेन्द्र मात्र अहिले नेपाली टिममा छन्। 

नेपालले दिएको २८१ रनको लक्ष्य कुवेतले ६ विकेटको क्षतिमा पार गरेको थियो। नेपालविरुद्ध कुवेतका तीन ब्याटरले अर्धशतक प्रहार गरेका थिए। प्रतियोगिताको फाइनलमा नेपालले युएईसँग बराबरी खेल्दै संयुक्त रुपमा ट्रफी उचालेको थियो। 

विशेष