कस्ले गर्दैछ केपी ओलीको हत्या गर्ने प्रयास ?

शुक्रबारको संसद बैठकमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न खोजेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। विशेष समयमा बोल्दै उनले केही दिनअघि झापामा ओलीमाथि आक्रमणको प्रयास गरिएको र सरकारले रोक्न नसकेको आरोप लगाए।
बाँस्कोटाले आफ्नो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको हत्या गर्न खोजिएको हो? भनेर प्रश्न समेत गरेका छन्। ‘गृह मन्त्रीले घटना हुँदैछ भन्ने थाहा हुँदाहुँदै रोक्न सक्नुभएन’ उनले भने–‘उहाँले जवाफ दिएर हुँदैन, अब प्रधानमन्त्रीले नै संसदमा आएर जवाफ दिनुपर्छ।’
माओवादीले पहिलो जातका राज्य बाँड्दा अहिले समस्या आएको भन्दै उनले अहिले आफ्नै कार्यकर्ता सम्हाल्न नसकेको बास्कोटाको टिप्पणी थियो।
कोशी प्रदेश नाम राख्न माओवादीले नै प्रस्ताव पेश गरेर पछि फेरि जातका नाममा कार्यकर्ता उराल्ने काम गरेको उनले आरोप लगाए। ‘कोशी प्रदेश पास गर्दा माओवादीको प्रस्ताव थिएन? संसदीय दलले समर्थन गरेको थिएन? अनि अर्को पार्टीलाई दोष थुपार्ने?’ उनले भने, ‘काँक्रो आफू चोर्ने अनि बियाँ अरूका गालामा दल्ने काम नगरौँ।’